सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित

राजनीति

सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित

sudan tanuja

आफूलाई जेन जी आन्दोलनको स्टेक होल्डर दावी गर्ने ‘हामी नेपाल’ (एनजिओ)का संस्थापक सुदन गुरुङको गतिविधि र अभिव्यक्तिले वैचारिक चेत राख्ने जेनजी युवाहरु सशंकित हुन थालेका छन् ।

८० वर्षसम्म नभएको परिवर्तन २४ घण्टामा ल्याएको दावी गर्ने गुरुङले आफूखुशी संसद पुनस्थापनाका शर्तहरु राख्न थालेपछि अन्य जेनजी युवाहरु तर्सिएका हुन् । कतिसम्म भने, गुरुङलाई जेनजी नेता मान्दै आएका युवाहरु नै यतिबेला झसङ्ग भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’ भनिएका गुरुङले हिजो एक टेलिभिजन अन्तर्वार्तामा तत्कालीन प्रधिनिधिसभामा कायम सदस्यको संख्या (२७५)लाई ३० प्रतिशत मानेर राजनीतिक दलहरु ७० प्रतिशत सदस्य थप्न तयार भए संसद पुनःस्थापना गर्न सकिने बताएका थिए ।

७० प्रतिशत मध्येमा पनि सबै आफूले सिफारिस गरेका उम्मेद्वारलाई प्रतिनिधिसभा सदस्य मनोनित गरिनुपर्ने उनको आशय थियो । आफूहरुको माग सम्बोधन नभए फागुन २१ मा चुनाव हुन नदिने सार्वजनिक उद्घोष गरेका गरेका गुरुङले यसरी आफूलाई ‘गेम चेन्जर’को रुपमा प्रस्तुत गर्न थालेको पृष्ठभूमिमा अन्य जेनजी युवाहरुले विरोध जनाउन थालेका हुन् ।

जेनजी अगुवा तनुजा पाण्डेले गुरुङलाई अब आफ्नो कार्यक्षेत्रमा फर्किन सल्लाह दिएकी छन् । आफ्नो स्वार्थ पुरा गर्न जेनजीको नाम नबेच्न पाण्डेको चेतावनी छ ।

‘अरु आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म‑विश्लेषण गर, पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असंगत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्‍यायो भन्ने बुझ’, उनले गुरुङलाई भनेकी छन्, ‘तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचाहिएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन, खबरदार, नेपाल कसैको प्रयोगशाला होइन, व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजी को नाम बेच्ने काम तुरुन्त बन्द गर।’

अब मुलुकलाई निकास दिने अन्तिम विकल्प भनेकै आगामी चुनाव रहेको बताएकी पाण्डेको संसद पुनःस्थापनाको कल्पना समेत गर्न नसकिने तर्क छ ।

‘७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्न आवश्यक छ, त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ, अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो’, गुरूङलाई पाण्डेको सल्लाह छ, ‘अब केही समय विश्राम लिनुहोस्, जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ, गम्भीर राजनीतिक विषयमा तपाईंका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ