स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वालिङ नगरपालिका–१२ ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा भीरकोट नगरपालिका–८ लाई ३–१ को सेटले पराजित गर्दै वालिङ–१२ विजयी बनेको हो ।
फाइनल खेलको पहिलो सेट वालिङ–१२ ले २५–२१ अङ्कका साथ आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने भीरकोट–८ ले २५–२१ अङ्कसहित खेल बराबरीमा ल्याएको थियो । त्यसपछि वालिङ–१२ ले तेस्रो सेट २५–१५ र कडा प्रतिस्पर्धात्मक चौथो सेट २६–२४ अङ्कमा जित्दै उपाधि हासिल गरेको हो । उपाधि गुमाएसँगै भीरकोट–८ ले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
अग्रदिप युवा क्लबद्वारा आयोजित प्रतियोगितामा तेस्रो र चौथो स्थान क्रमशः आयोजक “बि” र आयोजक “सि” ले हात पारेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः ८१ हजार १११, ५१ हजार १११, ३१ हजार १११ र ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
व्यक्तिगत विधागत पुरस्कारतर्फ वालिङ–१२ का सचिन गाहा मगर उत्कृष्ट खेलाडी, गोरे गुरुङ उत्कृष्ट लिब्रो र युमन गुरुङ उत्कृष्ट ब्लकर घोषित भए । भीरकोट–८ का आकाश गुरुङ उत्कृष्ट स्पाइकर, मिलन गुरुङ उत्कृष्ट सेटर, ओमन गुरुङ उदयमान खेलाडी तथा अर्जुनचौपारी–२ का समुन्द्र कार्की उत्कृष्ट सर्भर बनेका छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा अनुशासित टिम फेदीखोला–४ लाई पनि सम्मान गरिएको थियो ।
विजेता टोलीलाई प्रमुख अतिथि टुकराज अर्याल, क्लबका अध्यक्ष नेत्रबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै अर्यालले यस्ता प्रतियोगिताले गाउँस्तरमा लुकेका खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै युवालाई अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले स्थानीय तहले खेलकुदलाई प्राथमिकतामा राखेर निरन्तर यस्ता कार्यक्रमलाई सहयोग गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
क्लबका अध्यक्ष नेत्रबहादुर रोकाले सीमित स्रोत र साधनका बीच पनि प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै टिम, खेलाडी, दर्शक तथा सहयोगी हातप्रति आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय बनाउँदै निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
यही पुस १५ गतेदेखि अग्रदिप युवा क्लबको खेलमैदानमा भएको प्रतियोगितामा छिमेकी भीरकोट, वालिङ, चापाकोट नगरपालिका, फेदीखोला गाउँपालिकाका वडासहित १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा