पोखरा । मतदान सम्पन्न नभएसम्म कास्कीमा मेला, महोत्सव लगायतका कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न अनुमति नदिने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।
बैठकले २०८२ भदौ २३ र २४ गते भएको ‘जेन्जी’ विरोध प्रदर्शनका क्रममा क्षति भएका सरकारी सवारी साधन तथा भौतिक सम्पत्तिको मन्त्रिपरिषद्को निर्णयानुसार तत्काल मिनाहा तथा लिलाम बिक्री गर्ने प्रक्रिया टुंग्याउन निर्देशन दिएको छ । सोही प्रदर्शनमा ठूलो संख्यामा सरकारी सम्पत्ति नष्ट भएकाले अबदेखि नयाँ खरिद गरिने र हाल सञ्चालनमा रहेका सवारी साधन तथा निर्माण हुने भवनहरूको अनिवार्य रूपमा बिमा गर्ने व्यवस्था मिलाउन शर्माले मातहतका कार्यालयलाई निर्देशन दिइन् । निर्वाचन आचारसंहिता पालनाका सम्बन्धमा कर्मचारी, सुरक्षाकर्मी र शिक्षकहरूलाई कडा निर्देशन दिइएको छ ।
कर्मचारीहरूले राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने र सामाजिक सञ्जालमा निर्वाचनका पक्ष वा विपक्षमा आएका पोस्टहरू सेयर, लाइक वा कमेन्ट गर्न नपाउने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ । सरकारी भवन, स्रोत–साधन र सवारी साधनहरू दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने र स्वीकृत वार्षिक बजेट बाहेकका नयाँ योजना घोषणा वा उदघाटन गर्न रोक लगाइएको छ । निर्वाचनका लागि सबै सरकारी सवारी साधन मर्मत गरी चालु अवस्थामा राख्न र माग भएको खण्डमा चालकसहित उपलब्ध गराउन बैठकले निर्णय गरेको छ ।
मतदान केन्द्र रहेका विद्यालय र सार्वजनिक स्थलमा पिउने पानी, बिजुली र शौचालयको प्रबन्ध मिलाउन स्थानीय तहले सहयोग गर्नुपर्नेछ भने मतदान केन्द्रसम्म पुग्ने सडक मार्गहरूको मर्मत सडक डिभिजन, प्रदेश सरकार र स्थानीय तहले गर्नुपर्नेछ । निर्वाचनमा खटाइने कर्मचारीको विवरण स्थायी लेखा नम्बरसहित निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ । कर्मचारीलाई लामो बिदामा नछाड्न, काज वा सरुवा भएकालाई तत्काल दरबन्दी भएको कार्यालयमा पठाउन र कार्यालय प्रमुखहरू नियमित रूपमा सञ्चार सम्पर्कमा रहन बैठकले आग्रह गरेको छ । बिदामा बस्नै परे प्रमुख जिल्ला अधिकारीलाई अनिवार्य पूर्व जानकारी दिनुपर्नेछ ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि आयोजना बैंकमा विवरणहरू समयमै प्रविष्ट गर्न र सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्न सम्बन्धित कार्यालयले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने निर्णय भएको छ ।
जिल्लाभित्र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालहरूले बिमा सेवा दिए बापतको रकम स्वास्थ्य बिमा बोर्डबाट शोधभर्ना नपाएको विषयलाई केन्द्रीय अनुगमन समितिमा पठाउने निर्णय भएको छ । यस्तै, ‘जेन्जी’ आन्दोलनका क्रममा हिरासत र कारागारबाट भागेका फरार कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्र बनाइने भएको छ । फरार व्यक्ति सेवा लिन कार्यालयमा आएमा गोप्य रूपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६०३७५०१, प्रहरी नायब उपरीक्षकलाई ९८५६०३५५१२ वा कारागार प्रशासकलाई ९८५६०८३७७७ मा सूचना दिन बैठकले सबैमा अनुरोध गरेको छ । खाली रहेका प्राविधिक पदका लागि लोकसेवा आयोगमा तत्काल माग फारम भर्ने निर्णय समेत भएको छ ।
सम्बन्धित खबर
आजदेखि टाइगर कप भलिबल, दुई विदेशीसहित ११ टोली सहभागी
कास्कीमा निर्वाचन नसकिएसम्म मेला महोत्सव गर्न रोक
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
मनाङमा चिठ्ठा थुतेर कांग्रेस-एमालेले भाग लगाए संघ र प्रदेशमा उम्मेदवारी