आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरीको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक संख्याभन्दा झण्डै आठ सय निर्वाचन प्रहरी कम भएका छन् ।
प्रहरीका अनुसार जिल्लामा कुल दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म एक हजार ३१८ जनाले मात्र आवेदन दिएका छन् । आवेदन दिने क्रममा विभिन्न चरणका परीक्षामा एक सयभन्दा बढी उम्मेदवार अनुत्तीर्ण र अनुपस्थित भएपछि अन्ततः ८०८ जनाको कमी देखिएको हो ।
निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया पहिलो चरणमा माघ १ गतेसम्म तय गरिएको थियो । तर अपेक्षित आवेदन नआएपछि माघ ३ गतेसम्म समय थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार अपुग निर्वाचन प्रहरीका लागि दुई दिन थप गर्दै आवेदन माग गरिएको छ । उम्मेदवारले शनिबार र आइतबार दुई दिन फारम दर्ता गर्न सक्नेछन् । निर्वाचन प्रहरी बन्न इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त राखिएको छ ।
यसपटक निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त व्यक्ति, पूर्व वन रक्षक तथा २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म सुरक्षा निकायमा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ ।
यसैगरी, अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
निर्वाचन मिति नजिकिँदै जाँदा आवश्यक जनशक्ति जुटाउन थप प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन प्रहरी अभाव, मागभन्दा झण्डै आठ सय कम आवेदनपछि दुई दिन थप
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन
भिरबाट लडेर युवकको मृत्यु
स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता
स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता
फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
मनाङमा चिठ्ठा थुतेर कांग्रेस-एमालेले भाग लगाए संघ र प्रदेशमा उम्मेदवारी
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?