जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?

राजनीति

जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?

घुसपैठ भएको भन्दै घर फर्किन सूचना जारी गर्दा पनि माइकको पहुँचमा रहेका नेतृत्वकर्ताले किन सुनेनन्?’

tanuja pandey

जेनजी अभियन्ता तनुजा पाण्डेले भदौ २४ गतेको आन्दोलन र त्यसपछि उत्पन्न हिंसात्मक घटनालाई लिएर राज्य, सुरक्षा निकाय र आन्दोलनका नेतृत्वकर्ताहरूमाथि गम्भीर प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र नाबालकहरूमाथि गोली चलाउने आदेश कसले दियो भन्दै सत्य सार्वजनिक गर्न माग गरेकी हुन्।

पाण्डेले शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनमा नियोजित स्वार्थ बोकेका मानिसहरूको भूमिका रहेको आशंका पनि गरेकी छन्। ‘करिब ११ बजे नै जेनजी समूहले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन सूचना जारी गर्दा पनि माइकको पहुँचमा रहेका नेतृत्वकर्ताले किन सुनेनन्?’ उनले प्रश्न गरेकी छन्, ‘जोखिम स्पष्ट हुँदाहुँदै आन्दोलन अघि बढाउने निर्णय कसको थियो?’

ब्यारिकेड तोड्ने मनसाय नभएका मानिसहरू संसद् भवन अगाडि कसरी पुगे भन्ने प्रश्न पनि उनको छ।  शान्तिपूर्ण भनिएको प्रदर्शनको दिशा कसले बदल्यो भन्दै उनले आन्दोलनको मोड परिवर्तन गर्ने शक्तिको पहिचान हुनुपर्ने बताएकी छन्। ‘स्कुलको पोशाकमा भएकालाई प्रहरीले केही गर्दैन भन्ने भ्रम कसले फैलायो?’ उनको अर्को प्रश्न छ।

देशभर एउटै समय र संगठित रूपमा सिंहदरबार जलाउन कसले उक्सायो भन्दै उनले जवाफ माग गरेकी छन्। साथै, भाटभटेनी सुपर मार्केटमा भएको आगजनी र त्यहाँ ज्यान गुमाएका ७ जनाको विषयमा राज्य मौन रहेकोमा उनले आपत्ति जनाएकी छन्। पाण्डेका अनुसार रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले सुरक्षित निकास दिए पनि त्यही दिन १० जना बन्दीहरू प्रहरीको गोलीबाट मारिएको आरोप लगाउँदै यसमा राज्यले दोहोरो चरित्र देखाएको भनेकी छन्।

कार्की आयोगको प्रतिवेदन रोकेर चुनावमा कसैलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै आशंका व्यक्त गरेकी उनले सत्य लुकाएर गरिने चुनावलाई ‘व्यवस्थित भ्रम’ को संज्ञा दिएकी छन्। ‘गोली चलाउन लगाउने र सिंहदरबार जलाउन लगाउने दुवैको सत्य बाहिर आएपछि मात्र जनताले सही मूल्यांकन गर्न पाउँछन्,’ उनले लेखेकी छन्।

हेर्नुस् उनको एक्स पोस्ट : 

1. शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनलाई उग्र बनाउने कुनै नियोजित भूमिका थियो कि थिएन यो प्रश्न उठ्नैपर्छ। आन्दोलन शान्तिपूर्ण थियो भन्दै गर्दा, करिब ९:३० बजे माइतीघरमा झडप कसरी भयो? किन उग्र नारा लाग्यो? र त्यो नारा किन उक्साइयो?

2. करिब 11  बजे Gen-Z समूहले नै “आन्दोलनमा घुसपैठ भइसकेको छ, अवस्था सुरक्षित देखिँदैन, सबै जना घर फर्किनुहोस्” भन्दै सामाजिक सञ्जालमा आधिकारिक रूपमा सूचना जारी गरिसकेको अवस्थामा अग्रपङ्तिमा आन्दोलनको नेतृत्व गरिरहेकाहरूले, माइकको पहुँचमा रहेकाहरूले,त्यो किन देखेनन्? कि देखेर पनि नदेखेजस्तो गरे? जब जोखिम स्पष्ट भइसकेको थियो, त्यसपछि पनि आन्दोलन अघि बढिरहनु, कसको निर्णय थियो?

3. ब्यारिकेड तोड्न कसले उक्सायो? ब्यारिकेड तोड्ने इरादा थिएन भन्ने मानिसहरू संसद् अगाडि किन पुगे?  यदि उद्देश्य शान्तिपूर्ण प्रदर्शन थियो भने, त्यो दिशा कसले बदल्यो? 

4 त्यो सबै घटना हुँदा, तत्कालीन सरकार र हाम्रो सुरक्षा निकायहरू कहाँ हेरेर बसेका थिए?

5. स्कुलको पोशाकमै रहेका नाबालक भाइबहिनीमाथि गोली चलाउने कसले आदेश दियो? 

6. “स्कुलको पोशाकमा भएका विद्यार्थीलाई प्रहरीले केही गर्दैन” भन्ने भ्रम कसले फैलायो?

7. सिंहदरबार जलाउन कसले उक्सायो? सिंहदरबार जलाउन कसले उक्सायो? देशभर एउटै तरिकाले, एउटै समयमा, संगठित रूपमै आगो कसरी लाग्यो? एउटै साधन प्रयोग गरेर यो विनाश कसरी सम्भव भयो? जब मानिसहरू घरभित्र थिए, बाहिरबाट आगो लगाउनेलाई “attempt to murder” मान्नुपर्छ कि पर्दैन? यी प्रश्नको उत्तर जनताले थाहा पाउनुपर्छ कि पर्दैन?

8. भाटभटेनी जलेर भदौ २४ मा ७ जनाको ज्यान गयो। तर आजसम्म को मारियो, कसरी मारियो राज्यसँगै जवाफ छैन। राज्यबाट आक्रोशित मान्छे Bhatbhateni Super Market जलाउन किन जान्छ? त्यो आक्रोश कसले, किन, कसरी मोडिदियो?

9.. RSP का प्रमुखलाई प्रहरीले सुरक्षित रूपमा भगाएर निकाल्यो, तर त्यही भदौ २४ मा १० जना बन्दीहरू प्रहरीकै गोलीबाट मारिए। कसैलाई सुरक्षा, कसैलाई हत्या यो कस्तो दोहोरो मापदण्ड हो र कस्तो hypocrisy हो? यदि कानुन सबैका लागि बराबर हुनुपर्छ भने, राज्यको बन्दीमाथि गोली, आन्दोलनकारी माथि गोली चल्नु र शक्तिशालीलाई सुरक्षित निकास यो कसरी न्यायसंगत हुन्छ? यसको जवाफ Nepal Police ले दिनु पर्दैन? सत्य नबोल्ने राज्यप्रति जनताले विश्वास कसरी राख्ने?

9. कार्की आयोगको प्रतिवेदन रोकेर आउने चुनावमा कसलाई फाइदा पुर्‍याउन खोजिँदैछ? सत्य लुकाएर जनताको निर्णय क्षमतालाई कमजोर बनाउने प्रयास होइन यो? “गोली चलाउन लगाउने” र  सिंहदरबार जलाउन लगाउने” दुवै पक्षको सत्य बाहिर आएपछि मात्र जनताले चुनावमा सचेत मूल्याङ्कन गर्ने अधिकार पाउनुपर्छ। सत्य बिना चुनाव, लोकतन्त्र होइन, व्यवस्थित भ्रम मात्र हो।

२३ अगाडि आयो कि २४ भन्ने बकम्फुसे बहस नगरौँ ! दुवै दिनमा नै नेपाली जनता मारिएका छन्, राज्यबाट र भीडबाट। सत्य र जिम्मेवारीको प्रश्नलाई लुकाएर बहस फेरि मितिमा सीमित पार्नु जनताको पीडा र ज्यानप्रति बेवास्ता हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ