रास्वपाका सांसदलाई २ दिनसम्म तालिम दिइने, मोबाइल चलाउन र फोटो खिच्न नपाइने

राजनीति

रास्वपाका सांसदलाई २ दिनसम्म तालिम दिइने, मोबाइल चलाउन र फोटो खिच्न नपाइने

rsp-office-rasopa1687410765-1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सांसदहरूलाई आचारसंहिता लगाएको छ  ।

पार्टीले आफ्ना सांसदहरूलाई तालिम अवधिभर मोबाइल फोन प्रयोग गर्न, आफन्त भेट्न र फोटो खिच्न समेत निषेध गरेको हो । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सोमबार र मंगलबार अर्थात् चैत ३ र ४ गते हुने अभिमुखीकरणका लागि पार्टीले यस्तो निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । अभिमुखीकरण कार्यक्रमलाई पूर्ण रूपमा आवासीय बनाइएको छ ।

सूचनामा भनिएको छ, ‘कार्यक्रम आवासीय हुनेछ । पार्टीले सबै सांसदहरूको खाना र आवास सेयरिङ बेसिसमा सुनिश्चित गरेको छ ।’ कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

सांसदहरूलाई आफ्ना परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई होटलमा आमन्त्रण नगर्न निर्देशन दिइएको छ । ‘कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले सूचनामार्फत भनेका छन्, ‘सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ ।’

पोशाकको विषयमा पनि पार्टीले नियम तोकेको छ । सांसदहरूले कार्यक्रममा बिजनेस क्याजुअल पोशाक लगाउनुपर्नेछ । सवारी साधन लिएर आउने सांसदहरूका लागि पार्किङको व्यवस्था भए पनि चालक र अन्य सहयोगीको व्यवस्थापन भने सांसद आफैँले गर्नुपर्ने नियम बनाइएको छ ।

होटलमा सांसदलाई छाडेपछि सवारी साधन परिसर वा बाहिर पार्क गर्न सकिने तर चालकको भोजन र आवासको व्यवस्थापन सांसदकै जिम्मेवारी हुने सूचनामा उल्लेख छ । यसका लागि होटल बाहिरको अन्य स्थानमा प्रबन्ध गर्न अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ