दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

biruwa-gapa-bajet-katauti

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानमा करिब दुई करोड रुपैयाँ कटौती भएपछि स्याङ्जाको बिरुवा गाउँपालिकाका दर्जनौँ विकास योजना प्रभावित भएका छन् । बजेट अभावका कारण चालू आर्थिक वर्ष २०८२/८३ मा प्रस्ताव गरिएका २८ वटा योजना कार्यान्वयन हुन नसकेका हुन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि २५४ वटा योजना प्रस्ताव गरेको थियो । ती योजनाका लागि पूँजीगततर्फ १३ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर समानीकरण अनुदानतर्फ प्राप्त हुनुपर्ने ८ करोड ४६ लाख रुपैयाँमध्ये करिब दुई करोड रुपैयाँ कटौती भएपछि सबै योजना अघि बढाउन नसकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायका अनुसार बजेट कटौती भए पनि २५४ योजनामध्ये २२६ वटा योजना कार्यान्वयनमा गएका छन् । तीमध्ये हालसम्म १७६ वटा योजना सम्पन्न भइसकेका छन् । उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै अधिकांश योजना सम्पन्न गर्ने प्रयास गरिएको बताए ।

अनुदान कटौतीको प्रत्यक्ष असर सडक पूर्वाधार, पदमार्ग, खानेपानी, सिँचाइ, तटबन्ध, मन्दिर तथा सार्वजनिक शौचालय निर्माणसँग सम्बन्धित योजनामा परेको छ । वडास्तरबाट सिफारिस भई गाउँसभाबाट पारित भएका केही योजना समेत बजेट अभावकै कारण अलपत्र परेका छन् ।

योजना शाखा प्रमुख दीपक ढुङ्गानाका अनुसार अनुदान कटौती नभएको भए गाउँपालिकाले सबै योजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । उनका अनुसार हालसम्म विनियोजित पूँजीगत बजेटमध्ये करिब सात करोड रुपैयाँ खर्च भइसकेको छ, जसले झन्डै ५० प्रतिशत वित्तीय प्रगति देखाएको छ ।

यद्यपि बजेट अभावबीच पनि गाउँपालिकाले केही महत्वपूर्ण पूर्वाधार कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आठवटै वडा कार्यालयलाई सडक सञ्जालसँग जोड्ने रणनीतिक सडक निर्माण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाको दाबी छ । उक्त कार्यक्रममार्फत ग्रामीण बस्तीलाई सहज पहुँचसँग जोड्दै स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्य राखिएको थियो ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । यसका साथै जलवायु परिवर्तन न्यूनीकरण, खानेपानी, सिँचाइ, शिक्षा, खेलकुद, तर्ले सामुदायिक स्वास्थ्य भवन, सामुदायिक विद्यालयको क्षमता अभिवृद्धि तथा धर्मशाला निर्माणका कार्यक्रम पनि प्राथमिकतामा परेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ