जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने नागरिकले विगतमा भोग्दै आएको लामो लाइन, एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने झन्झट र दिनभर कार्यालयमै बिताउनुपर्ने बाध्यता अहिले धेरै हदसम्म हटेको छ । प्रशासनले सेवा प्रवाहको पुरानो ढाँचा परिवर्तन गर्दै एकद्वार सेवा प्रणाली लागू गरेपछि अधिकांश सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध हुन थालेका छन् ।
नागरिकको समय, श्रम र खर्च बचाउने उद्देश्यले लागू गरिएको नयाँ प्रणालीपछि कार्यालयको सेवा प्रवाह व्यवस्थित बनेको प्रशासनको दाबी छ । अनावश्यक भीड, झन्झट र बिचौलियाको प्रभावसमेत घट्दै गएको बताइएको छ । एउटै कामका लागि सेवाग्राहीलाई एउटा कोठाबाट अर्को कोठा धाउन नपर्ने गरी कार्यालयको संरचना पुनः व्यवस्थित गरिएको छ । लामो लाइन, भनसुन र पटक–पटक कार्यालय धाउनुपर्ने पुरानो झन्झट हट्दै गएपछि प्रशासनप्रति नागरिकको भरोसा पनि बढ्न थालेको छ ।
कार्यालयमा टोकन प्रणाली सञ्चालनमा ल्याइएपछि सेवाग्राहीले मेसिनबाट टोकन लिएर एउटै सेवा कक्षबाट आवश्यक सेवा लिन सक्ने व्यवस्था गरिएको छ । सेवा कक्षमा पुगेपछि कर्मचारीले सुरुमा कागजात रुजु गर्छन् । आवश्यक कागजात अपुग भए प्रक्रिया पूरा गर्न सुझाव दिइन्छ भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर कुर्सीमा बसेर पालो कुर्ने व्यवस्था मिलाइएको छ । अशक्त, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिइने भएपछि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था हटेको छ ।
आधा घण्टामै नागरिकताको प्रतिलिपि
अर्जुनचौपारी गाउँपालिका–३ गहतेकी मिना क्षेत्रीले प्रशासनको सेवा प्रवाहमा आएको परिवर्तनले आफू निकै खुसी भएको बताइन् । उनले केही वर्षअघि पहिलोपटक नागरिकता बनाउन बिहान १० बजे प्रशासन पुगे पनि दिउँसो ३ बजेसम्म काम नसकिँदा गाउँ फर्कने बससमेत छुटेको अनुभव सुनाइन् । तर यसपटक आफ्नै नागरिकताको प्रतिलिपि बनाउन आउँदा आधा घण्टाभित्रै काम सकिएको भन्दै नयाँ प्रणाली प्रभावकारी भएको बताइन् ।
यस्तै, आँधीखोला गाउँपालिका–१ का सम्भु गुरुङले पनि सेवा प्रवाहमा आएको सुधारको प्रशंसा गरे । विगतमा बिचौलियाले अनावश्यक दुःख दिएर सेवाग्राहीबाट रकम असुल्ने अवस्था अहिले क्रमशः अन्त्य हुँदै गएको उनको भनाइ छ । “आफ्नो पालो आउँछ र काम हुन्छ, यही नै सबैभन्दा ठूलो परिवर्तन हो,” उनले भने ।
यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्किनुपर्ने र कतिपय अवस्थामा सदरमुकाममै बस्नुपर्ने अवस्था थियो । अहिले टोकन प्रणाली लागू भएसँगै सेवा छिटो र व्यवस्थित हुन थालेको सेवाग्राहीको अनुभव छ ।
एउटै फ्लोरबाट सबैजसो सेवा
जिल्ला प्रशासन कार्यालयले पहिलाभन्दा अहिले व्यवस्थित रुपमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक दर्ता तथा वितरण, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक तथा वितरणलगायतका सेवा एउटै फ्लोरबाट उपलब्ध गराउन थालेको छ । सेवाग्राहीका लागि सुविधासम्पन्न वेटिङ हल, खानेपानी र निःशुल्क वाइफाइको समेत व्यवस्था गरिएको छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयको प्रवेशद्वारमै सहायता कक्ष स्थापना गरिएको छ । सहजकर्तामार्फत राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क अनलाइन आवेदन भर्ने, आवश्यक कागजात जाँच गर्ने, प्रमाणीकरण गर्ने तथा आवश्यक परामर्श दिने व्यवस्था मिलाइएको छ । कार्यालयसँग सम्बन्धित आवश्यक कागजातको फोटोकपीसम्मको सेवा पनि निःशुल्क उपलब्ध गराउन थालिएको छ । यसले सेवाग्राहीको अतिरिक्त खर्चसमेत घटाएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले प्रक्रिया पुनःसंरचना गरिएकाले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई २० देखि ३० मिनेटभित्रै नागरिकता उपलब्ध गराउन सकिने अवस्था बनेको बताए ।
त्यस्तै, नायब सुब्बा रामप्रसाद पौडेलका अनुसार दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया अझ सहज बनेको छ ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने अभियान अघि बढाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउने लक्ष्यअनुसार एकद्वार सेवा प्रणाली लागू गरिएको बताए । उनका अनुसार नागरिकले अनावश्यक झन्झट, बिचौलियाको प्रभाव र अतिरिक्त खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य गर्दै प्रशासनलाई प्रविधिमैत्री र सेवामुखी बनाउने कामलाई निरन्तरता दिइनेछ ।
भौगोलिक रूपमा विकट बस्ती रहेको स्याङ्जामा गाउँबाट सदरमुकाम पुग्न नागरिकले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एउटै दिनमै काम सकिने वातावरण बनेपछि टाढाबाट आउने सेवाग्राहीलाई ठूलो राहत पुगेको प्रशासनको विश्वास छ । सीमित स्रोत र जनशक्तिकै प्रयोगबाट सेवा सुधारको प्रयास सफल बन्दै गएको प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो