स्याङ्जाको चापाकोट नगरपालिका–१ को वडा कार्यालयमा आर्थिक वर्ष २०८३/८४ का योजना छनोट र बजेट विनियोजनलाई लिएर स्थानीय युवाले तालाबन्दी गरेका छन् ।
वडाध्यक्ष भूपराज वोस्तीले स्थानीय आवश्यकता र सरोकारवालासँग पर्याप्त छलफल नगरी अपारदर्शी तथा एकलौटी ढङ्गबाट योजना छनोट गरेको आरोप लगाउँदै युवाहरूले बुधबार दिउँसोदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीमा उत्रिएका युवाहरूले योजना छनोटका क्रममा टोल तथा वडास्तरीय भेला नगरी बजेट विनियोजन गरिएको र स्थानीय जनप्रतिनिधिसमेतसँग आवश्यक परामर्श नगरिएको आरोप लगाएका छन् ।
स्थानीय युवा गोपीकृष्ण रेग्मीले योजना र बजेट निर्माण गर्दा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित हुनुपर्ने बताए । स्थानीय आवश्यकता पहिचान गरेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।
‘वडा र टोलस्तरमा आवश्यक छलफल गरेर जनताको वास्तविक आवश्यकताका आधारमा योजना छनोट र बजेट विनियोजन गर्ने सुनिश्चितता नभएसम्म तालाबन्दी जारी रहन्छ,’ रेग्मीले भने ।
वडा कार्यालयमा तालाबन्दी भएपछि वडा सदस्य सन्तोष थापाले चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालालाई समेत निवेदन दिएका छन् । उनले बजेट तथा योजना व्यवस्थापनमा पारदर्शिता कायम गर्दै स्थानीयको सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।
यता, वडाध्यक्ष भूपराज वोस्तीले भने योजना छनोटमा एकलौटी नगरिएको दाबी गरेका छन् । उनले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजना सरोकारवाला पक्षहरूको सहभागितामै छनोट गरिएको बताए ।
योजना छनोट प्रक्रियालाई लिएर स्थानीय युवा र वडाध्यक्षबीच मतभेद बढेपछि चापाकोट–१ को वडा कार्यालयको कामकाज प्रभावित हुने अवस्था बनेको छ ।
सम्बन्धित खबर
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन