गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको रामनदी (राम्दी) मा निर्माण भएको देशकै पहिलो नमुना ‘टाइड आर्च’ मोटरेबल पुल भारवहन क्षमता परीक्षणमा सुरक्षित देखिएको छ ।
पुल सेक्टर पोखराले गरेको परीक्षणका क्रममा पुलमा अधिकतम ३० मिलिमिटर मात्र लचकता देखिएको पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पुलको डिजाइन भारवहन क्षमता १४६ टन रहे पनि एकैपटक २४० टनसम्म भार बोकेका सवारीसाधन आवतजावत गराउँदा पनि पुल सुरक्षित देखिएको हो ।
परीक्षणका क्रममा दुई, चार र छ वटा गरी विभिन्न चरणमा लोड गरिएका ट्रक पुलमा राखेर भारवहन क्षमता परीक्षण गरिएको अधिकारीले बताए । तापक्रमका कारण पनि पुलको भारवहन क्षमतामा केही फरक पर्न सक्ने भए पनि हालको अवस्था र परीक्षणबाट प्राप्त परिणामका आधारमा पुल पूर्ण रूपमा सुरक्षित देखिएको उनको भनाइ छ ।
पुल सेक्टर पोखराले निर्माण गरेको यो कंक्रिट फिल स्टिल ट्युब आर्च ब्रिज हो । थाइल्यान्डका डिजाइनरले यसको डिजाइन गरेका हुन् । यस्तो प्रविधिका पुल चीन र दुबईलगायतका स्थानमा निर्माण भए पनि नेपालमा भने राम्दीमा पहिलोपटक निर्माण गरिएको हो ।
एक स्पानमा निर्माण भएको नयाँ पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । यो पुल २०२८ सालमा निर्माण भएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो रहेको छ ।
तीन वर्षमा सक्ने सम्झौता, निर्माणमा ढिलाइ
नयाँ पुल निर्माणका लागि २०७९ असार ३० गते तीन वर्षमा काम सम्पन्न गर्ने गरी हिम सगरमाथा प्रालि, चितवनसँग ठेक्का सम्झौता भएको थियो । तर डिजाइन समयमै तयार नहुनु तथा निर्माण सामग्री भारत र आवश्यक विज्ञ चीनबाट समयमै नआउँदा पुल निर्माणमा ढिलाइ भएको हो ।
पुरानो ट्रस पुल जीर्ण हुँदै गएपछि भार बोकेका सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै नयाँ पुल २७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
नयाँ पुल सञ्चालनमा आएपछि जीर्ण पुरानो पुलमा जोखिम मोलेर यातायात सञ्चालन गर्नुपर्ने अवस्था अन्त्य भएको छ । यसअघि पुरानो पुलमा धेरै भार भएका सवारीसाधन आवतजावत गर्न कठिन हुने गरेकामा नयाँ पुलको भारवहन क्षमता परीक्षणसमेत सफल भएपछि यातायात सञ्चालन थप सहज हुने भएको छ ।
२०२८ सालमा बनेको थियो पुरानो पुल
राम्दीमा रहेको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै निर्माण सुरु गरिएको थियो । २०२२ सालमा निर्माण थालिएको पुल २०२८ सालमा सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उक्त पुलको उद्घाटन गरेका थिए ।
लामो समयदेखि प्रयोगमा रहेको पुरानो पुल जीर्ण भएपछि त्यसको विकल्पका रूपमा निर्माण गरिएको नयाँ आर्च पुलले दुई प्रदेशबीचको आवागमनलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने