सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ ।
एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँग भने, ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’
स्रोतका अनुसार तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा)बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ । ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २/२/१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो । तर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन भत्कियो । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे ।
राष्ट्रपतिमा बनेको गठबन्धनले बदलिने भयो केन्द्र र प्रदेश सरकारको समीकरण
राष्ट्रपतिको निर्वाचनकालागि आठ दलको फरक गठबन्धन बनेपछि केन्द्र र छ प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि केन्द्र र छ प्रदेश सरकारको समीकरण पनि बदलाव आउने परिस्थिति बनेको हो ।
केन्द्र र सातै प्रदेशमा सरकारमा रहेको नेकपा एमालेसहितका दल सरकारबाट बाहिरिएमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ ।
सरकारमा रहेका दलले सरकार छोडे सत्ता समीकरणमा फेरबदल हुनसक्छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै नयाँ राजनीतिक कोर्स भएको बताए । शुक्रबार आफ्नो विपरितको गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने संकेत गरिसकेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सत्ता र सरकार सञ्चालनका विविध विषयहरूमा समेत समझदारी बनेको छ ।
प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्
नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन ।
वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन ।
‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने । उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रीमण्डल गठन हुनेछ ।
राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत !
प्रधानमन्त्री प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् । राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् ।
प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएको एक नेताले बताए । उनले एमाले आफै सरकारबाट बाहिरियोस् भन्ने चाहना रहेको उल्लेख गर्दै त्यसपछि प्रदेशसम्मको समीकरणमा बदलाव आउन सक्ने धारणा राखेका थिए ।
फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।
उनले ठूलो दलको हैसियतले राष्ट्रपति दिनु उचित हुने धारणा राखेका थिए । प्रधानमन्त्री कसले कति चलाउने लगायतका विषयमा भनेपछि छलफल हुने प्रचण्डको भनाइ थियो ।
उपराष्ट्रपति जसपालाई दिने सहमति
८ राजनीतिक दलले उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति गरेका छन्। राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने समझदारी बनाएका हुन्। यसको लिखित भने भएको छैन।
‘राष्ट्रपतिमा कांग्रेसलाई र जसपालाई उपराष्ट्रपतिमा सघाउने ८ दलबीच समझदारी भएको छ’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँहरुले दलभित्र छलफल गरेर उम्मेदवारको नाम दिनुहुनेछ।’
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो