केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान

केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान

Book News (1)

पोखरा । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको शुक्रवार एक समारोह बीच पोखरामा लोकार्पण गरियो ।

वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिलाल उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताए । उनले केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताए ।

पोखरा आगमन सन्दर्भमा बोल्दै बल्लभले कार्यक्रमका हिसाबले पोखरा आगमन यो तेस्रो भएको बताए । पहिलो पटक म्यूजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गरे । अनेसासको सम्मानप्रति आभार व्यक्त गर्दै उनले आफू पूर्वको मान्छे भएर पनि प्रिय भूमि पोखरा रहेको बताए ।

सोही समारोहबीच अनेसास गण्डकी समितिकातर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा पाँच दशक साधना गरी पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा सम्मान अर्पण गरेका थिए ।

अतिथि सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको बताए ।

हरिदेवी कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्यसेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाकारूपमा चिनाइन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताए ।

कृतिको समीक्षा गर्दै घनेन्द्र ओझाले छ सातवर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उनको साहित्य लेखनको पहिलो कडी इमान भएको बताए । कृति सम्पादनका सम्बन्धमा बताउँदै उनले अव्यक्त पीडा भित्र केसीका हजारौंमध्येका उत्कृष्ट मुक्तक भएको बताए । स्रष्टाको परिचयसमेत दिँदै ओझाले कास्कीको भलाममा जन्मेका केसीका यस अघि यसरी पोखियो मन, परेलीभित्रै छु कवितासङ्ग्रह, मनको पहिरो, इमानको पहाड मुक्तकसङ्ग्रह र यो जुनीमा यस्तै भयो गीतिएल्बम प्रकाशित गरिसकेका सिर्जनशील स्रष्टा भएको धारणा व्यक्त गरे ।

कृतिका स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यस पटक पोखरामा कार्यक्रम आयोजना गरेको बताए । आफ्ना जागिरे तथा व्यक्तिगत जीवनका विविध अध्याय र आयामको स्मरण गर्दै समय–समय भावुकसमेत भएका केसीले दाजुभाइको बाल्यकालीन स्नेहसमेत स्मरण गरे । साथै, अनेसास र हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषले यो बन्दोबस्तो मिलाएकोमा आभार पनि व्यक्त गरे ।

कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तकवाचन गरेका थिए ।

समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसीलगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा आयामबारे चर्चा गरे ।

अध्यक्षको आसनबाट बोल्दै कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए । अनेसास उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव असफल गौतमले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds