आलु महोत्सवमा कृषि गीत प्रतियोगिता

आलु महोत्सवमा कृषि गीत प्रतियोगिता

20230411_135255

हेमजा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत आज तेस्रो दिन मंगलबार जैविक विविद्यता सम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको उक्त प्रतियोगितामा वडा नं. ३३ को कृषि संजाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित वेमौसमी तरकारी कृषक समूह तृतीय साथै हेमजा कृषि संजालको समूह सान्त्वना हुन सफल भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश रु.१० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कृषि महाशाखाका अधिकृत दामोदर अधिकारी, हेमजाका अगुवा कृषक एवम् कलाकार बुद्धदेवी कुँवर एवम् कलाकार परशुराम अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।त्यस्तै महोत्सव अन्र्तगत मंगलबारबाट खुल्ला रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।

महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । मंगलबार मात्रै ४ हजार बढी र हालसम्म १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महोत्सवका आलुको कारोबार पनि दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । आलु किन्नकै लागि कास्की लगायत छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु हेमजा आउने गरेका छन् । महोत्सव स्थल र बाहिरबाट समेत गरी हालसम्म करिव २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले बताए ।

हेमजामा फलेका आलु अन्य ठाउँको तुलनामा मिठो हुने र छिटो पाक्ने भएका कारण आलु किन्नकै लागि आफू हेमजा आएको तनहुँ खैरेनीटारकी बविता शर्माले स्पष्ट पारे ।

महोत्सव अन्र्तगत आज मंगलवार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना, तुलसा क्षेत्री, कृष्ण सुवेदी, बुद्धदेवी कुँवर, गोविन्द गायक साथै पपतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङले प्रस्तति राखे ।

त्यस्तै बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिए ।

‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् । महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ