पोखरा । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एकविशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ग्रहण गरेका थिए ।
एसओएसका संस्थापक हरमन माइनरको तस्बिरमा पुष्पार्पण गरी प्रारम्भ गरिएको उक्त समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बूढाले सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त र उद्देश्यमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे ।
समारोहमा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।
उक्त समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा क्रमागत सर्वाेत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिने पच्चीस हजार रकम राशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०७९ मा कक्षा ६ का नसिब पौडेल पुरस्कृत भएका छन् ।
बालबालिकाहरूसँग तीन दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्वर्गीय मातापिताका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवम् संरक्षक बरालले बताइन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको नीति तथा योजनासम्बन्धी बजेट तर्जुमा गर्ने क्रममा एसओएसको आदर्श र उद्देश्यलाई समेत सम्बोधन गर्ने गरी विगतका सहयोगलाई थप परिष्कृत रूपमा निरन्तरता दिने विषयमा आयोग प्रतिबद्ध रहेको बताए ।
एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गरे।
सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले कोरोनाको तीव्र सङ्क्रमणका कारण विगत केही वर्षदेखि रोकिएको पुरस्कार वितरणमा पुनरावलोकन गर्दै यस वर्षदेखि राज्यको परिवर्तित शैक्षिक प्रणालीअनुसार विषयगत रूपमा विद्यार्थीहरूलाई पुरस्कृत गर्ने नयाँ अभ्यास प्रारम्भ गरिएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, एसओएस बालग्रामकी आमा प्रतिनिधि कल्पना पाण्डेलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ