गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् ।
“अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उनले भने, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।” लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न सुरु गरेको प्रमुख डा कडरियाको भनाइ छ ।
उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता हुनुभएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उनको भनाइ छ ।
“लामो दुरीको पदयात्रामा निक्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।
आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । प्रमुख डा. कडरियाले अघिल्लो आव २०७९÷८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय दस पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु