आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले पोखरामा सम्मान गरेको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ लगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताए । कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गरेका १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौरव भएको बताए ।

गण्डकी पदयात्रा र पर्वतीय पर्यटनमा धेरै सम्भावनायुक्त प्रदेश भएको बताउँदै उनले अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनबाट छोटिएर पाँच/छ दिनमा सीमित भएको वास्तविकतामा जिटिन गण्डकी प्रदेशले हालै कास्कीको ताङतिङदेखि मनाङको तिमाङसम्मको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन गरेको जानकारी गराए । चार दिनदेखि १४ दिन समयावधिको गुरुङ सम्पदा पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गसँग जोड्न सकिने उनले बताए ।
जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिटिन गण्डकीका महासचिव तुल गुरुङ, सम्मानित व्यक्तित्व तेजन गुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्यलगायतले नेपालको पर्वतीय पर्यटनका सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमअघि आरोही गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक, हल्लनचोक हुँदै कार्यक्रमस्थलसम्म बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो । गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयु, शिसापन्ज्म हिमालहरू आरोहण गरेका थिए । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ