पोखरा । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुरअन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ ।
आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने हाम्रो अपेक्षा छ,’ उनले भने ।
यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए । मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।
टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए । सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए ।
‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए ।
सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ । युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?