काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन दिएको छ।
आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई यस्तो नीतिगत निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
रास्वपाले महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्न तयारी गर्न निर्देशन दिएको हो।
बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ।
बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। पीडित परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ।
बैठकमा मधेश प्रदेशको संगठनात्मक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदनसमेत प्रस्तुत भएको छ। पार्टीका सहमहामन्त्री तथा मधेश प्रदेश संयोजक हरि ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ।
त्यस्तै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै विभिन्न व्यक्तिलाई सदस्यमा मनोनयन गरिएको छ। आयोग सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई मनोनयन गरिएको छ।
ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
सम्बन्धित खबर
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा