गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रका लागि सुहाउँदो बजेट ल्याउन प्रयत्नशील रहेको बताएका छन् ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको आयोजनामा भएको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठीमा उनले प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा रहेकाले आगामी दिनमा स्वास्थ्य क्षेत्रका लागि सुहाउँदो बजेट ल्याउने बताए । त्यसमा आँखा स्वास्थ्यका लागि पनि केही न केही योजना बनाएरअघि बढ्ने उनले सुनाए ।
राज्यले गर्नुपर्ने काम आँखा हस्पिटलले गरिरहेको उनले बताए । मन्त्री पाठकले भने, ‘यो क्षेत्रमा राज्य जति प्राथमिकता दिनुपर्थ्यो, त्यो अवस्था रहेको छैन ।’ बजेट अभावका बिचमा काम अघि बढ्न नसकेको उनको भनाइ छ । गोष्ठीमा संस्थाका अप्ठेरा, उपलब्धि र चुनौतिका विषयमा छलफल गरी आगामी दिनको बाटो सहज बनाउन उनको सुझाव थियो ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष डा दीलबहादुर क्षेत्रीले हरेक नेपालीको आँखा स्वास्थ्यमा प्रभावकारी सेवा प्रदान गर्नका लागि सोही अनुसार योजना बनाउनुपर्नेमा जोड दिए । यसका लागि आँखाको क्षेत्रमा काम गरिरहेका संघ, संस्थासँगै तीनै तहका सरकार स्वास्थ्य क्षेत्रमा जवाफदेही हुनुपर्ने उनले बताए ।
संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले हिमालय आँखा अस्पतालको भौतिक पूर्वाधारसँगै प्राविधिक क्षेत्रको विकासका विषय गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने बताए । नेत्रज्योति संघका आँखा अस्पताल र आँखा उपचार केन्द्रको स्तर वृद्धिका लागि थाइल्यान्डका प्रधानमन्त्री, नेपालका स्वास्थ्यमन्त्रीसँग चरणवद्ध विभिन्न विषयमा सम्झौता भइसकेको उनले जानकारी दिए ।
आई केयर फाउन्डेसनका नेपाल प्रतिनिधि अनिल गोर्खालीले गण्डकी प्रदेश सरकारको स्वास्थ्य नीतिमा आँखा छुट्न नहुनेमा जोड दिए । भौतिक पूर्वाधार विकासका लागि पनि सरकारले साथ दिनुपर्ने उनले बताए । आगामी दिनमा आँखा शिविरका लागि आई केयर फाउन्डेसनले सहयोग गर्दै जाने उनले प्रतिवद्धता जाहेर गरे ।
हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले गोष्ठीबाट आएका सल्लाह र सुझाव साथै योजनाका आधारमा यहाँको सेवालाई अझै चुस्तदुरस्त बनाउँदै लैजाने बताए । कार्यक्रममा लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई उत्कृष्ट आँखा उपचार केन्द्रको रुपमा सम्मान पनि गरिएको थियो ।
हिमालय आँखा अस्पतालबाट १ वर्षमा साढे २ लाख जनाको उपचार
हिमालय आँखा अस्पतालले १ वर्षमा २ लाख ४३ हजार ५ जनाको आँखा जाँच गरेको छ । यो सन् २०२४ मा अस्पताल पुगेर र शिविरबाट सेवा उपचार लिनेको संख्या हो ।
अस्पतालबाट १ लाख ८९ हजार ७२ जना र आँखा शिविरमा ५३ हजार ९ सय ३३ जनाले आँखा जाँच गरेको जानकारी दिइयो । आइ केयर फाउन्डेसनको सहयोगमा भएको कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले एक वर्ष भित्रमा जनरल स्क्रिनिङ, सर्जिकल र स्कुल स्क्रिनिङ क्याम्प गरी २ सय ८ शिविर गरिएको जानकारी दिइन् ।
वर्षमा ९३ स्थानमा भएको जनरल स्क्रिनिङ क्याम्पबाट १७ हजार ३ सय ९० जनाले लाभ लिएको डा गुरुङले बताइन् । जसमा ६ हजार ३ सय जनालाई सर्जरीका लागि पोखरा रिफर गरिएको थियो । गत वर्ष ५५ वटा सर्जिकल क्याम्पमा १७ हजार ३ सय ३ जनाको आँखा जाँच गरिएकोमा २ हजार १ सय ५३ जनालाई सर्जरीका लागि पोखरा रिफर गरिएको उनले सुनाइन् ।
६० वटा स्कुलमा गरिएको स्कुल स्क्रिनिङ क्याम्पबाट १९ हजार २ सय ४० विद्यार्थीले लाभ लिएका थिए । योबाहेक अस्पतालमै पुगेर ओपिडी सेवा लिनेमध्ये १० हजार ३ सय १६ जनाको सर्जरी गरिएको डा गुरुङले जानकारी दिइन् । ओपिडी सेवा लिनेमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै रहेको उनले बताइन् ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प