पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी

धर्म संस्कृति

पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी

4fb15e8b-96eb-419a-93fd-d9bbdff690d2-1024×461
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत लामो समयदेखि हुँदै आएको भाइटिका महोत्सवको १८औँ संस्करण यस वर्ष पनि पोखरामा  सम्पन्न गरिएको छ ।

होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आयोजना गरिएको महोत्सवमा १२ देशका एक सय जना विदेशी पर्यटकले सहभागी भएको सङ्घले जनाएको छ ।

लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवले संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पछिल्ला राजनीतिक तथा आर्थिक कारणले प्रभावित पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन महोत्सवले सकारात्मक टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, ईजरायल, चीन, भारत, जर्मनी, स्विट्जरल्यान्ड, सुईडेन, स्पेन र न्यूजिल्यान्ड सहित १२ देशका पर्यटकहरूले नेपाली परम्परा अनुसार सप्तरङ्गी टिका लगाएका छन् । कतिपय पर्यटकले विगतका वर्षहरूमा पनि सहभागी भई पुनः टिका लगाउन आएको अनुभव सुनाएका थिए ।

अष्ट्रेलियाकाकी एनीले आफू नेपाल धेरै पटक आएको बताउँदै यस महोत्सवले समेत आफूहरूलाई यो सिजनमा नेपाल भ्रमणमा आउन प्रेरित गरेको सुनाए ।

कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनालाई टिका लगाइदिएका थिए भने उनीहरूले भाइटिका पर्वको परम्परा अनुसार पुरुष पर्यटकलाई ढाका टोली र महिलाहरूलाई पछ्यौरा उपहार प्रदान गरिएको थियो । सप्तरङ्गी टिका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दङ्ग परेका थिए ।

सहभागीहरूलाई तिहारको सांस्कृतिक र धार्मिक महत्त्व झल्काउन तथा बुझाउन दीपावली तथा तिहारका पाँचै दिनका विशेषताबारे जानकारी गराउँदै देउसी भैलो समेत कार्यक्रमसहित आगन्तुक पाहुनालाई नृत्य समेत गराइएको थियो ।

संस्कृति संरक्षणसँगै यसै माध्यमबाट विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव पोखराको अर्को आकर्षक पर्यटकीय उत्पादनका रूपमा विकसित हुँदै गएको आयोजक सङ्घले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ