पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै, पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ ।
लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले पारित गरेको हो । पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य रहेको समितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।
आगामी माघ २२ गते संस्थाको २८ औं स्थापना दिवसका अवसरमा दुवैलाई पुरस्कार र सम्मान अर्पण गरिने प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीले बताए । पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ छ ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।
सम्मानित हुन लागेका सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा सक्रिय उनलाई सांगठनिक सक्रियता र योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको हो । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस