आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् । अन्तिम नामावली सार्वजनिक भई चुनाव चिन्ह पाएसँगै ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म मतदाता भेटघाटमा जुटेका हुन् ।
उम्मेदवारी दर्तापछि जिल्लामा चुनावी माहोल तातिएको छ । तर, यही चहलपहलसँगै स्याङ्जामा एउटा गम्भीर बहस पनि सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक जना पनि महिला उम्मेदवार नहुँदा प्रश्न उठेको छ ।
दुवै निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम नामावलीमा ११ दल र ४ स्वतन्त्र गरी २४ जना मात्रै मैदानमा छन् । चासोको विषय के भने, ती २४ उम्मेदवारमध्ये एक जना पनि महिला छैनन् ।
महिला उम्मेदवार शून्य हुँदा ‘के स्याङ्जामा नेतृत्व गर्न सक्ने महिला नै छैनन् ?’ भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ । संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको मर्मलाई दलहरूले बेवास्ता गरेको आरोप सरोकारवालाहरूले लगाएका छन् । दुई निर्वाचन क्षेत्रका २४ जना उम्मेदवार सबै पुरुष हुनु आफैंमा चिन्ताजनक विषय बनेको छ ।
यसपटक स्याङ्जामा पुरुष उम्मेदवारबीच मात्रै प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ । जिल्लाका स्थापित व्यक्तित्व, युवा तथा अधिकारकर्मीहरूले महिला सहभागिता नहुनु प्रति कडा असन्तुष्टि जनाएका छन् ।
उम्मेदवारी विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘महिलाको भोट चाहिने, नेतृत्व नचाहिने ?’ भन्ने प्रश्नसहित दलहरूको आलोचना भइरहेको छ ।
चाखलाग्दो कुरा के छ भने स्याङ्जामा महिला मतदाता पुरुषभन्दा बढी छन् । कुल २ लाख ४८ हजार ८ सय १६ मतदातामध्ये पुरुष १ लाख २२ हजार ४ सय ६४, महिला १ लाख २६ हजार ३ सय ५१ र एक अन्य मतदाता छन् । पुरुषभन्दा महिला मतदाता ३ हजार ८ सय ८७ ले बढी भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार भने एक जना पनि छैनन् ।
संघीयता पछिको २०७४ र २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार मैदानमा उत्रिए पनि यसपटक भने ठूला र साना दल सबै चुक्न पुगेका छन् ।
अघिल्ला निर्वाचनमा नेकपा एमालेले स्याङ्जाबाट महिला उम्मेदवार उठाएको इतिहास रहे पनि यस निर्वाचनमा त्यो दोहोरिन सकेन । समग्रमा हेर्दा स्याङ्जामा लोकतान्त्रिक दलभन्दा वामपन्थी दलहरू महिला उम्मेदवारप्रति तुलनात्मक रूपमा उदार देखिँदै आएका छन् ।
यसपटक एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल र कांग्रेसकी माया राना दुवै समानुपातिक सूचीमा छन् । तर अन्य दलहरूले स्याङ्जाबाट समानुपातिकतर्फ पनि महिलालाई प्राथमिकतामा राखेको खासै देखिँदैन ।
संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे पनि प्रत्यक्ष निर्वाचनमा भने ‘जित्ने उम्मेदवार’ को बहानामा महिलामाथि अविश्वास देखिँदै आएको आलोचना छ ।
२४ उम्मेदवारमध्ये महिला एक जना पनि नहुनुले दलहरूभित्र समावेशिताप्रतिको गम्भीरता कमजोर रहेको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ । शिक्षित जिल्ला मानिने स्याङ्जामा महिलाविहीन निर्वाचनले संख्यात्मक नतिजा त दिन सक्छ, तर नैतिकता र समावेशीताको सवालमा ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारीले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार नहुनु गम्भीर चिन्ताको विषय भएको बताइन् । समानुपातिकमा महिलाको उपस्थिति भए पनि प्रत्यक्ष प्रतिस्पर्धामा अघि नल्याउनु दलहरूको सोच र प्राथमिकतामाथि प्रश्न उठाउने विषय भएको उनको भनाइ छ । जित्ने सम्भावनामा कम विश्वास गरिने प्रवृत्तिका कारण महिलाहरू अवसरबाट वञ्चित हुँदै आएको उनले बताइन् ।
उता, नेकपा एमाले केन्द्रीय सदस्य सिमा क्षेत्रीले अघिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाएको एमाले यसपटक परिस्थितिवश पुरुष उम्मेदवारमा सीमित हुनुपरेको बताइन् । समाजमा अझै पनि पितृसत्तात्मक सोच हावी भएकाले महिलालाई प्रत्यक्षमा विश्वास नगरिने अवस्था रहेको उनको तर्क छ ।
फागुन ४ गतेसम्म सार्वजनिक सभा–कार्यक्रममा रोक लागेपछि उम्मेदवारहरू घरदैलो अभियानमै केन्द्रित छन् । यसबीच नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जामा पुराना दलहरूलाई चुनौती दिएको छ । कांग्रेस र एमालेको बलियो संगठन रहेको जिल्लामा रास्वपाको उपस्थितिले चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । अन्ततः स्याङ्जामा कसले बाजी मार्ला भन्ने टुंगो भने फागुन २१ पछि मात्रै लाग्नेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी