पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी र अस्थायी सबै संरचना ९ जेठभित्र हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई अन्तिम चेतावनी दिएको छ ।
तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैंले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने जनाएको छ ।
महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटसम्म फैलिएको फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको हो । फिर्केखोला फेवातालमा मिसिने प्रमुख खोला हो ।
सूचनामा महानगरपालिकाले यसअघि २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको उल्लेख गरेको छ । त्यतिबेला महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी खोलाघरको सीमांकन गर्दै पोल गाडेको थियो । महानगरले अहिले ती पोलभित्र पर्ने सबै संरचना हटाउन भनेको हो ।
महानगरपालिकाका अनुसार उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो । अदालतले ‘उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने’ फैसला गरेपछि महानगरले फेरि संरचना हटाउने प्रक्रिया अघि बढाएको हो । महानगरले २०८३ वैशाख ४ गते पनि अर्को सूचना जारी गरेको जनाएको छ ।

‘फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचनाहरू २०८३ जेठ ९ गतेभित्र व्यक्ति वा संस्था स्वयंले हटाउनू,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मितिभित्र संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिनेछ ।’
फिर्केखोलाको अतिक्रमण, साँघुरो बन्दै गएको बहाव क्षेत्र र वर्षायाममा देखिने डुबान समस्यालाई लिएर महानगरले पछिल्ला वर्षहरूमा निगरानी बढाएको छ । फेवाताल संरक्षणसँग पनि जोडिएको विषय भएकाले खोलाघरभित्रका संरचना हटाउने तयारीलाई महानगरले प्राथमिकतामा राखेको देखिन्छ ।
फिर्केखोला आसपासका क्षेत्रमा पछिल्ला वर्षहरूमा घर, टहरा, पर्खाल तथा अन्य भौतिक संरचना विस्तार हुँदै गएको छ । महानगरले ती संरचनाले प्राकृतिक बहाव अवरुद्ध गरेको र विपद्को जोखिम बढाएको निष्कर्षसहित हटाउने प्रक्रिया अघि बढाएको हो ।
महानगरपालिकाले जारी गरेको सूचनामा संरचना हटाउने निर्णय अदालतबाट समेत वैधानिकता प्राप्त भइसकेकाले अब कार्यान्वयनतर्फ केन्द्रित हुने संकेत गरेको छ ।
सम्बन्धित खबर
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरामा ०७ सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
यो पनि पढौँ
मित्रमिलन सहकारीको ऋण नतिर्ने २६ जना विरुद्ध पक्राउ पुर्जी जारी
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
सर्वोच्चमा तमासा: कामु प्रधानन्यायाधीशको आदेशपछि कर्मचारी सर्वोच्च छाडेर हिँडे
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ