पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन

गुणस्तरीय शिक्षा

पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन

निकट भविष्यमै एलएलबी र बीबीए पढाइने

pbs (1)

पोखरा । प्रतिभा फाउण्डेशनले प्रतिभा बिजनेस स्कुलको पनि सुरुवात गरेको छ । पोखरा–४, गैह्रापाटन स्थित स्कुलले ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) कोर्सको पठनपाठन सुरु गर्न लागेको छ ।

फाउण्डेशनका अध्यक्ष नारायण पौडेलले प्रतिभा बिजनेस स्कुलको थालनी गण्डकी प्रदेशको उच्च शिक्षाको विकास र सूचना प्रविधि शिक्षाको विस्तारका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

‘प्रतिभा फाउन्डेशनको जगमा उभिएको प्रतिभा बिजनेस स्कूलको मूल उद्देश्य विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र होइन, सक्षम, नैतिक, सिर्जनशील र नेतृत्वदायी नागरिक बनाउनु हो ।’ पौडेलले भने– ‘हामीले काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुरूप आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्नेछौं ।’ पौडेलले निकट भविष्यमै एलएलबी र बीबीए पढाइने पनि बताए ।

प्रतिभा बिजनेस स्कुलका प्राचार्य रबि बरालले प्रतिभा बिजनेस स्कुल गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर विद्यार्थीको समग्र विकासमा केन्द्रित रहने बताए ।

‘हामी केवल डिग्री प्रदान गर्ने संस्था होइन, भविष्यका प्रविधि नेतृत्वकर्ता, अनुसन्धानकर्ता, उद्यमी र जिम्मेवार नागरिक तयार गर्ने शैक्षिक संस्था बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं ।’ बरालले भने । गण्डकी बोर्डिङ स्कुल र जीसीईएसको प्राचार्यका रुपमा दशकौं अनुभव बटुलेका बरालले अब पीबीएसको नेतृत्व गर्न लागेका हुन् ।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आजको विश्व डिजिटल प्रविधिबाट सञ्चालित रहेको बताउँदै डिजिटल उद्यमशीलताले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको र अब कुनै पनि राष्ट्रको विकास केवल प्राकृतिक स्रोतमा होइन, ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित हुन थालेको उल्लेख गरे ।

‘अन्तर्राष्ट्रिय बजारमा सूचना प्रविधिका दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । नेपाली युवा आज विश्वका प्रतिष्ठित कम्पनीहरूमा सफ्टवेयर विकास, डाटा विश्लेषण, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता तथा डिजिटल सेवाका क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । यस सम्भावनालाई अझ व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय सूचना प्रविधि शिक्षा अपरिहार्य छ ।’ सापकोटाले भने ।

प्रतिभा बिजनेस स्कुलले सुरु गर्न लागेको बीआर्यटी कोर्स चार वर्ष (आठ सेमेस्टर) को हुनेछ । प्रयोगात्मक कक्षा, परियोजनामूलक सिकाइ, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा इन्टर्नशिपमार्फत विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रका लागि तयार गरिने स्कुलले जनाएको छ ।

दक्ष तथा अनुभवी प्राध्यापक, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल शिक्षण वातावरण, परियोजनामूलक सिकाइ, नियमित सेमिनार, उद्योगसँगको सहकार्य, करियर काउन्सेलिङ, व्यक्तित्व विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई स्कुलले प्राथमिकतामा राखेको जनाएको छ ।

विगतमा गुणस्तरीय सूचना प्रविधि शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी काठमाडौं वा विदेश जान बाध्य रहेको अवस्थामा अब गण्डकी प्रदेश तथा आसपासका विद्यार्थीहरूले आफ्नै क्षेत्रबाट काठमाडौं विश्वविद्यालयको प्रतिष्ठित बीआईटी कार्यक्रम अध्ययन गर्ने अवसर प्राप्त गर्ने स्कुलको भनाई छ ।

यही जुन १९ देखि जुलाई ९ सम्म अनलाइन प्रवेश परीक्षा फाराम खुलिरहेको प्राचार्य बरालले जनाए । काठमाडौं विश्वविद्यालयले तोकेबमोजिम पहिलो सेमष्टरमा ३० जना विद्यार्थीले प्रतिभा बिजनेस स्कुलमा भर्ना लिन सक्नेछन् । भर्ना तथा मासिक शुल्क समेत गरी चार वर्षको नौ लाख ६० हजार तोकिएको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले तोकिएको मापदण्डअनुसार शैक्षिक कार्यक्रमको सुपरिवेक्षण तथा रेखदेख गर्ने स्कुलले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ