नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

samajik-suraksha-bhatta-renew-arjunchaupari-pkr

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पोखरामै घुम्ती शिविर सञ्चालन गरेर १६९ जना लाभग्राहीलाई सेवा दिएको छ ।

वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरी गाउँपालिकाले पोखरा पृथ्वीचोकस्थित होटल दीपज्योतिमा आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन गरेको हो ।

शिविरबाट अर्जुनचौपारी–१ का ६, वडा नं. २ का ३६, वडा नं. ३ का २०, वडा नं. ४ का २३, वडा नं. ५ का २२ र वडा नं. ६ का ६० जनाले सेवा लिएका छन् । एक जनाको नयाँ दर्तासमेत गरिएको छ । भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका एक जनाले पनि शिविरबाट सेवा लिएका छन् ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले पोखरामै पुगेर नवीकरणको व्यवस्था गरिएको बताए ।

“वडाध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेका हौँ,” तिवारीले भने, “शारीरिक रूपमा अशक्त र वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो उद्देश्य हो ।”

गाउँपालिकाका अनुसार शिविर सञ्चालन भएपछि वडा कार्यालयमा हुने भीडसमेत कम गर्न सहयोग पुगेको छ । विशेषगरी पालिकाबाट टाढा बस्ने र आवतजावतमा कठिनाइ भएका लाभग्राहीलाई शिविरले सहजता दिएको छ ।

अर्जुनचौपारी–३ का ९३ वर्षीय चन्द्रबहादुर गुरुङले पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताए । पोखरामा बस्दै आएका अर्जुनचौपारी–१ का नरबहादुर क्षेत्रीले पनि आफू बसेकै ठाउँ नजिक शिविर सञ्चालन गरेर समयमै सेवा दिएकोमा खुसी व्यक्त गरे ।

भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका केशबहादुर गुरुङले पनि अर्जुनचौपारीको शिविरबाट सेवा लिन पाउँदा राहत भएको बताए । भरतपुर पुग्न टाढा हुने अवस्थामा जिल्लाभन्दा बाहिर बसिरहेका अरु जिल्लाका नागरिकलाई समेत सहजीकरण गरेर सेवा दिनु सकारात्मक भएको उनको भनाइ छ ।

जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ । भीरकोट नगरपालिका–७ ले भने आफ्ना वडाका लाभग्राहीहरुको घरघरमा पुगेर नवीकरणको काम गरेको वडाध्यक्ष ताराप्रसाद अर्यालले बताए ।

स्याङ्जाका ११ वटै पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । तर बैंक र स्थानीय तहबीचको समन्वय प्रभावकारी नहुँदा भत्ता लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने गुनासो लाभग्राहीले गर्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ