एनपीएलको सम्पूर्ण तयारी पूरा, नेपालमा पहिलो पटक डिआरएस प्रविधि

क्रिकेट

एनपीएलको सम्पूर्ण तयारी पूरा, नेपालमा पहिलो पटक डिआरएस प्रविधि

npl 2026

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको ‘नेपाल टी–ट्वान्टी लिग’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगिता शुरु हुनु अघिल्लो दिन आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको औपचारिक जानकारी दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पारे ।

चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भएपनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ ।

खड्काकाअनुसार यो प्रतियोगिता आईसीसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ ।

पहिलो संस्करणको उत्साह र दोस्रो संस्करणको अनुभवपछि तेस्रो संस्करणमा प्रवेश गर्न लागेको प्रतियोगितामा यसपटक आठवटै टोली उपाधि लक्ष्यसहित मैदानमा उत्रने छन्।

उपाधिको दौड यसपटक पहिलेभन्दा रोचक हुने देखिन्छ। अघिल्ला दुई संस्करण उपाधि जितिसकेका जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र पोखरा एभेन्जर्स मैदानमा उत्रिँदैछन्।

टोलीहरूले स्वदेशी खेलाडीको संयोजनसँगै विदेशी खेलाडीमा पनि लगानी गरेका छन्। अस्ट्रेलियाका पूर्व स्टार ब्याटर डेविड वार्नर, बंगलादेशका अलराउन्डर शकिब अल हसन, इंग्ल्यान्डका मोइन अली, वेस्ट इन्डिजका आन्द्रे रसेल र दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरजस्ता खेलाडीको आगमनले प्रतियोगिताको आकर्षण बढाएको छ।

तेस्रो संस्करणको अर्को महत्त्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को मान्यता हो। यसपटक एनपीएलका खेल आधिकारिक टी-२० खेलका रूपमा गणना हुनेछन्। डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोगले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा पनि यसपटक उपलब्ध हुनेछ।

यसै सन्दर्भमा क्यानले विशेष गरी विदेशी तथा स्वदेशी खेलाडीहरूको सहभागिताबारे आधिकारिक पुष्टि नभई भ्रामक समाचार संप्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।

उनले भने, ‘भोलिदेखि शुरु हुन गइरहेको प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताको जिम्मेवारी पनि बढेको छ । यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्वयंसेवक, टोली सञ्चालक, सरोकारवाला तथा सञ्चारमाध्यमबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूको साथ र सहयोग निरन्तर रहने अपेक्षा गरेका छौँ ।’

सम्बन्धित टिम व्यवस्थापन र क्यानको आधिकारिक धारणा नलिई खेलाडीबारे अपुष्ट विवरण आउँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने भन्दै संघले सचेत गराएको हो ।

क्यानले यस संस्करणमा कम्तीमा ७० करोड रुपैयाँको कारोबार हुने र करिब २० करोड रुपैयाँ खुद आम्दानी हुने अनुमान गरेको छ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रायोजकबाट ३० करोड, टिकेटिङबाट ७० करोड र फ्रेन्चाइज टोलीसहित गरी प्रतियोगितामा कुल १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुनेछ।

यस संस्करणमा क्यानले पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो सिजन १ करोड १० लाख रुपैयाँ रहेको विजेता पुरस्कार यस पटक १ करोड ५० लाख रुपैयाँ पुर्‍याइएको छ।

त्यसैगरी, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हात पार्ने टोलीले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

एनपिएलको व्यावसायिक यात्रा निकै तीव्र देखिएको छ। पहिलो संस्करणबाट २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको क्यानले दोस्रो संस्करणमा ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

तेस्रो संस्करणमा आइपुग्दा प्रतियोगिता सुरु हुनुअघि नै प्रसारण अधिकारमार्फत मात्रै ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी सुरक्षित भइसकेको छ।

पहिलो संस्करणमा एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा युट्युब र टेलिभिजन अधिकार खरिद गरी निःशुल्क प्रसारण गरेको थियो। दोस्रो सिजनबाट सब्स्क्रिप्सन मोडेल सुरु भयो, जसमा डिसहोमले ओटिटी र कान्तिपुर टेलिभिजनले ३ करोड रुपैयाँमा टेलिभिजन अधिकार लिएका थिए।

तेस्रो संस्करणमा भने हिमालय टेलिभिजनले करबाहेक १४ करोड ६४ लाख रुपैयाँ तिरेर टेलिभिजन अधिकार खरिद गरेको छ। जुन अघिल्लो संस्करणको तुलनामा झन्डै पाँच गुणा बढी हो। पहिलो संस्करणमा फ्रेन्चाइजहरूले ३ करोड १६ लाख पाएकोमा दोस्रो संस्करणमा बढेर १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक टी-२० लिगको मान्यता पाउनु यस संस्करणको अर्को ठुलो उपलब्धि हो। यससँगै एनपिएलमा खेलाडीले बनाएका सबै कीर्तिमानहरू आधिकारिक अन्तर्राष्ट्रिय टी-२० रेकर्डका रूपमा दर्ज हुनेछन्।

यसअघि चार टोलीले एक-एक जना सक्रिय टेस्ट खेलाडी मात्र ल्याउन पाउने नियम रहेकोमा यस पटक आइसिसीले जुनसुकै खेलाडी पनि अनुबन्ध गर्न खुला गरिदिएको छ। पहिलो सिजनमा भारतीय खेलाडी शिखर धवन (कर्णाली याक्स) र दोस्रो सिजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस (विराटनगर किंग्स) आएका थिए।

यस पटक भने अस्ट्रेलियाका ओपनर डेविड वार्नरदेखि वेस्ट इन्डिजका आन्द्रे रसेलसम्मका विश्वचर्चित खेलाडीहरू नेपाली मैदानमा उत्रिँदै छन्।

नेपाली भूमिमा पहिलो पटक डिआरएस प्रविधि

यस संस्करणमा पहिलो पटक अत्याधुनिक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) प्रविधि प्रयोग गरिँदै छ। यसअघि डिआरएस निकै महँगो भएको बताएका क्यानका सचिव पारस खड्काले यस पटक नेपाली क्रिकेटलाई प्रविधिमैत्री बनाउन डिआरएस भित्र्याइएको बताए।

एलबिडब्ल्यु रिभ्युका लागि फुल थ्रीडी बल ट्र्याकिङ, रनआउट, स्टम्पिङ र नो बल रिभ्युका साथै एआई प्रविधिमार्फत ब्याटको एज डिटेक्सन, वाइडको उचाइ र छक्काको लम्बाइ मापनसहितका बलिङ एनालिटिक्स यस पटक दर्शकले हेर्न पाउनेछन्। पहिलो सिजनमा भुइँमा बसेर खेल हेरेका दर्शकले दोस्रोमा प्यारापिट र फ्लडलाइट पाएका थिए भने यस पटक डिआरएससहित विश्वस्तरीय प्रविधिको अनुभव लिनेछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ