बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा रहेको चक्रवात क्रमशः शक्तिशाली बन्दै जाने र पछि अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ । उक्त चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै बुधबार आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
चक्रवातको प्रभावका कारण बिहीबारदेखि मौसममा बदलाव आउने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । धानबाली भित्र्याउनेलगायत कृषि कार्यमा संलग्न किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान तथा गन्तव्यमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ। चिसो बढ्न सक्ने र जोखिमयुक्त स्थानमा पहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन र अन्य गतिविधि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी गर्न विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि विभागले नियमित रूपमा जारी गर्ने सूचनामा ध्यान दिन पनि विभागले आग्रह गरेको छ ।
बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै सोमबार बिहान चक्रवाती आँधी ‘अर्णव’ मा परिणत भएको थियो ।सोमबार बिहान साढे ५ बजे आँधी बंगालको खाडीको पूर्वमध्य र आसपासको पश्चिममध्य क्षेत्रमा केन्द्रित थियो । यो भारतको अन्डमान टापुस्थित श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व–दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
यो आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । विभागका अनुसार चक्रवात बुधबार बिहान बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान छ । त्यसबेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला