नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९.५ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्यो। ६१ बल बाँकी छँदै जित हात पार्ने क्रममा लुम्बिनीका ओपनर डार्सी सर्टले विष्फोटक इनिङ्स खेले। उनले १८ बलमै ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४० रन बनाए।
अर्का ओपनर आसिफ शेखले २५ बलमा २ चौका र २ छक्काको मद्दतले ३२ रनको योगदान दिए। पहिलो विकेटका लागि सर्ट र आसिफले ६.२ ओभरमा ७१ रनको आक्रामक साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
त्यसपछि आएका निरोशन डिकवेला ७ रनमा आउट भए। कप्तान रोहित पौडेल ५ र शमीम हुसेन १ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १७.२ ओभरमा मात्र ८७ रन जोड्दा अलआउट भएको थियो।
टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा जोडेको २७ रन नै सर्वाधिक बन्यो। यस्तै, अनिल खरेलले अविजित १५, सैफ जैबले १३ र विनोद भण्डारीले ९ रन बनाउनुबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।
सुदूरपश्चिमका आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमै आउट भए। विदेशी खेलाडी कुगेलेइन एनपीएलको इतिहासमै पहिलोपटक ‘डीआरएस’ प्रणालीमार्फत आउट हुने खेलाडी बनेका थिए।
सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए।
यस्तै, किफायती बलिङ गरेका शेर मल्लले ४ ओभरमा मात्र ११ रन दिएर ३ विकेट हात पारे भने कप्तान रोहित पौडेल, श्याडली भान शाल्क्विक र तिलक भण्डारीले १-१ विकेट लिए।
यसअघि प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले विशेष समारोहबीच गरेका थिए भने खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि मैदान पुगेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। क्यानले यस संस्करणबाट कुल १ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ।
सम्बन्धित खबर
डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम रोयल्स ७ विकेटले पराजित
एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था
‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’
एनपीएलको सम्पूर्ण तयारी पूरा, नेपालमा पहिलो पटक डिआरएस प्रविधि
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला