स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा जारी आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगितामा होराइजन क्लब वालिङ र ज्योतिपुञ्ज युवा क्लब रामपुर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएका खेलमा होराइजनले आयोजक द राइजिङ ग्रुप चापाकोटलाई २–० गोलले र ज्योतिपुञ्जले भदौरे क्लब अन्नपूर्णलाई ६–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
यसअघि प्रतियोगिताको पहिलो दिन भएका खेलबाट बौद्ध शान्ति फुटबल क्लब पोखरा र हिल्ली फिल्डर्स गोरखा फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
बौद्ध शान्तिले मर्दीखोला युनाइटेड क्लब पर्वतलाई ४–० गोलले हराएको थियो । त्यस्तै, हिल्ली फिल्डर्सले स्याङ्जा युथ क्लबलाई निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा सडन डेथमार्फत पराजित गरेको थियो ।
सोमबारको पहिलो खेलमा होराइजनले आयोजक द राइजिङ ग्रुपलाई दबाबमा राख्दै जित निकालेको हो । खेलको २६औँ मिनेटमा टीकाराज गुरुङले गोल गर्दै होराइजनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको होराइजनका लागि दोस्रो हाफको ६८औँ मिनेटमा गणेश हमालले अर्को गोल थपे । दुई गोलको जितसँगै सेमिफाइनल पुगेको होराइजनका कप्तान विश्वास श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा ज्योतिपुञ्ज युवा क्लबले भदौरे क्लबमाथि ६–१ गोलको फराकिलो जित निकाल्यो । खेलको २२औँ मिनेटमा सौरभ क्षेत्रीले गोल गर्दै ज्योतिपुञ्जलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा सुनिल थापाले गोल थपेपछि टोली २–० को अग्रतासहित मध्यान्तरमा गएको थियो ।
दोस्रो हाफमा ज्योतिपुञ्जले गोलको वर्षा नै गर्यो । ३७औँ मिनेटमा बसन्त कुमालले गोल गरे भने ४०औँ मिनेटमा सुनिल थापाले व्यक्तिगत दोस्रो गोल थपे । उनले खेलको ५०औँ मिनेटमा तेस्रो गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे ।
भदौरेका कुञ्जन पौडेलले ५८औँ मिनेटमा एक गोल फर्काए पनि टोली खेलमा फर्कन सकेन । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सोजित रुचालले ६९औँ मिनेटमा गोल गरेपछि ज्योतिपुञ्जले ६–१ को जित पक्का गर्यो । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच घोषित भए ।
द राइजिङ ग्रुप चापाकोटको आयोजनामा कात्तिक १५ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ ।
आयोजकका अध्यक्ष लालबहादुर घर्तीका अनुसार प्रतियोगितामा आठ टोली सहभागी छन् । सहभागी टोलीमा आयोजक द राइजिङ ग्रुप (चापाकोट फुटबल क्लब), होराइजन क्लब वालिङ, भदौरे क्लब कास्की, ज्योतिपुञ्ज क्लब रामपुर पाल्पा, बौद्ध शान्ति फुटबल क्लब पोखरा, मर्दीखोला युनाइटेड क्लब पर्वत, हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र स्याङ्जा युथ क्लब छन् ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष घर्तीले जानकारी दिए ।
सम्बन्धित खबर
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल