जंगलमा खेर जाने कटुस र चिलाउनेका मुढामा च्याउ फलाएर बजार पुर्याउने काममा जुटेका छन्, स्याङ्जाको भीरकोट नगरपालिकाका यामप्रसाद अधिकारी ‘लक्ष्मण’ । भीरकोट–५ मा सुन्तला खेतीसँगै सिताके च्याउको व्यावसायिक उत्पादन थालेका उनले कृषि कर्मबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ (क) का नवनिर्वाचित प्रदेश सभापतिसमेत रहेका अधिकारीले खेर गइरहेको जमिन र वनमा उपलब्ध स्रोतलाई सदुपयोग गर्दै सिताके च्याउ खेती सुरु गरेका हुन् ।
सुरुमा दुईवटा टनेलबाट नमुनाका रूपमा थालिएको खेती अहिले १ हजार ६ सय मुढासम्म विस्तार भएको छ । अहिले च्याउको दोस्रो चरणको उत्पादन भइरहेको छ भने दैनिक करिब ५० किलो बजारमा पठाइरहेको अधिकारीले बताए ।
औषधीय गुणयुक्त मानिने सिताके च्याउ प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । यसबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । सुन्तला बिक्रीबाट पनि पाँच लाख रुपैयाँ आम्दानी गर्ने योजना बनाएका छन् ।
‘उत्पादन गर्न सके बजारको समस्या छैन । अर्गानिक र औषधीय गुणयुक्त भएकाले सिताके च्याउ धेरैको रोजाइमा परेको छ,’ अधिकारीले भने, ‘अहिले भीरकोट र वालिङमा बिक्री भइरहेको छ । सामाजिक सञ्जालको माध्यमबाट देशका मुख्य सहरसम्म पुर्याउने सोच छ ।’
अधिकारी भीरकोट–५ का पूर्ववडाध्यक्ष पनि हुन् । राजनीति र समाजसेवामा सक्रिय रहँदा समयको अभाव हुने भए पनि फुर्सद मिल्नासाथ खेतबारी र च्याउका टनेलमा पुग्ने गरेको उनले बताए । च्याउ फार्म र सुन्तला बगानको दैनिक हेरचाह भने उनका बुवाआमाले गर्दै आएका छन् ।
‘समयको अलि अभाव भएकाले सोचेजति राम्रो गर्न सकेको छैन । तर फुर्सद हुनासाथ कृषिमै रमाउँछु,’ उनले भने, ‘गाउँका हरेक नागरिक कुनै न कुनै उत्पादनमूलक काममा जोडिनुपर्छ र उत्पादनलाई बजारसम्म पुर्याउनुपर्छ भन्ने मेरो सन्देश हो ।’
कृषिसँगै अधिकारीले भीरकोट र वालिङ नगरपालिकास्थित मुख्य बजारमा ‘सफल फर्निचर’ व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । स्याङ्जामा स्थापित उक्त व्यवसायले झन्डै एक दर्जन स्थानीयलाई रोजगारी दिएको छ ।
फर्निचरका दुईवटा सोरुम उनकी श्रीमती र बुहारीले सम्हाल्दै आएका छन् । पारिवारिक सहकार्यका कारण आफूलाई कृषि र सामाजिक कामका लागि समय निकाल्न सहज भएको उनको भनाइ छ ।
अधिकारी जेसीज र लायन्स क्लबमार्फत सामाजिक गतिविधिमा पनि सक्रिय छन् । विपद्का बेला राहत तथा उद्धारमा सहभागी हुँदै आएका उनी भीरकोट र वालिङका स्थानीयसँग नियमित सम्पर्कमा रहने गर्छन् ।
राजनीति र व्यवसायसँगै कृषिलाई उत्पादन र आत्मनिर्भरताको आधार बनाउनुपर्ने अधिकारीको मान्यता छ । सुन्तला र सिताके च्याउ खेती विस्तार गर्दै स्थानीयलाई पनि उत्पादनमूलक काममा जोड्ने र कृषि उपजको बजार बढाउने उनको लक्ष्य छ ।
सम्बन्धित खबर
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल