रञ्जन अधिकारी, पोखरा । सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको विरोधमा पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । लेखनाथ अर्घौं स्थित कलेजमा नै उनीहरुले विहीबारदेखि तालाबन्दी गरेका छन् ।
गत वर्षपनि यही माघमा अभिभावक सहित नै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला नै गण्डकी मेडिकल कलेज प्रशासनले तीन बुँदे सहमति गरेर आन्दोलन मत्थर बनाएका थिए । तर, चर्को रकम असुली गर्न भने छाडेको छैन ।
अहिले पनि विद्यार्थीको माग उही छ । शिर्षक बिना लिइएका अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न, सरकारको निर्णय कार्यान्वयन गर्न र विद्यार्थीले तिरेका सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउन उनीहरुको तीन बुँदे माग रहेको छ ।
वर्षौंदेखि कलेजले सरकारले तोके विपरित लाखौं रकम असुल गर्दै आएको र बारम्बार आफ्ना कुरा राख्दा पनि राम्रो प्रतिक्रिया नदिएकाले कलेजमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीले बताएका छन् । विहीबार बिहान तालाबन्दी गरेका उनीहरु अपरान्ह गण्डकी मेडिकल कलेजको नयाँबजार स्थित हस्पिटलमा आएर प्रशासनलाई धर्ना दिएका छन् ।
माग सुनुवाइ नगरी ताला तोडिएमा यसको परिणाम नराम्रो आउने र जिम्मेवारी पनि प्रशासन आफैले लिनुपर्ने विद्यार्थीको चेतावनी छ । उनीहरुले विज्ञप्ती जारी गर्दै भनेका छन् – ‘चिकित्सा शिक्षालाई धराशायी बनाउने हिसाबले ठगी, निजीकरण, व्यापारिकरण र माफियाकरणले ग्रस्त बनाइएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मेडिकल कलेजभित्रका विकृति विसंगतिहरु सुधार गर्न माग गर्दछौं ।’
२०१५, २०१७, २०१८ ब्याचका विद्यार्थी आन्दोलनको मैदानमा उत्रिएका छन् । २०१६ ब्याचका विद्यार्थीले आन्दोलनलाई सहयोग गरेको जनाएको छ । २०१५ देखि २०१८ सम्म ब्याचका एमबिबिएस विद्यार्थीले वार्षिक डेढ लाख देखि तीन लाखसम्म तोकिए भन्दा बढी तिर्न परेको गुनासो गरेका छन् । यसरी ५ वर्षे कोर्षमा झण्डै आठ लाखदेखि १५ लाख बढी रकम कलेजले असुलेको छ । इन्टर्नशीप फि समेत पहिल्यै लिएर कलेजले बेईमानी गरेको छ । फि लिएको बिल समेत नदिने गरेका विद्यार्थीहरुले बताएका छन् । भविष्यमा डाक्टर जस्तो जनशक्ति उत्पादन गर्ने थलोमै मनपरी बेथिति भएकाले यसको नियन्त्रणमा सरोकारवाला लाग्न जरुरी रहेको विद्यार्थीहरु बताउँछन् ।

गत वर्ष माघमा पनि तोकिएको भन्दा बढी शुल्क माग गरिएपछि बिएससी नर्सिङका विद्यार्थीको छुट्टै आन्दोलन थियो भने एमबिबिएस अध्ययनरत विद्यार्थीले पनि आन्दोलन चर्काएका थिए ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विएससी नर्सिङ अध्ययनको ४ वर्षे कोर्षको लागि ७ लाख ४८ हजार ६ सय ३० रुपैयाँ शुल्क तोकेपनि विद्यालयले १२ लाख लाग्ने भन्दै थप शुल्क माग गरेपछि नर्सिङका विद्यार्थी आन्दोलित थिए । एमबीबीएस अध्ययनरत विद्यार्थीलाई विभिन्न शीर्षकमा ५६ लाख रुपैया तिर्न बाध्य पारेको भन्दै उनीहरु अभिभावक सहित आन्दोलनमा उत्रेका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र अखिल नेपाल विद्यार्थी यूनियनबीच गत वर्ष पुस २० गते भएको सम्झौता अनुसार त्रिवि अन्तर्गत सम्बन्धनप्राप्त कुनैपनि मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढि शुल्क लिन नपाउने र लिएको भए फिर्ता गर्नुपर्ने उल्लेख छ । सो सम्बन्धमा डिन कार्यालयले त्रिवि उपकुलपतिको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन र कलेजहरुलाई बोधार्थ एवं कार्यार्थ पत्र पठाएको थियो ।

सम्बन्धित समाचारः
http://gandaknews.com/gmc-aandolit/
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला