काठमाडौँ — दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला भएको छ । पूर्व माओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा र खानेपानी मन्त्री बीना मगरलाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर देखिएको हो ।
प्रधानमन्त्री निकट स्रोतअनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानीमन्त्री मगरलाई हटाउने पक्षमा छन्। तर, अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने र बुहारी बीनालाई खानेपानीमन्त्रीमै यथावत राख्ने अडानमा छन्। ओली र दाहालको यही अडानका कारण मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको छ।
आफ्नो पारिवारिक कारण बुहारी समेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान दाहालले प्रधानमन्त्री समक्ष लिएका छन्। दाहाल गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन्।
दाहाल निकट एक नेताकाअनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन। सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन्। त्यसकारण उनलाई हटाएर आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन्।
अध्यक्ष दाहाल कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनीहरुको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन्। प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्दा पार्टीभित्रको शक्ति समीकरण नबिग्रने भन्दै हटाउन चाहँदैनन्।
‘प्रधानमन्त्रीको चाहना त पूर्व माओवादी तर्फका दुईजना (थापा र वर्षमान पुन) बाहेक अरु सबै हटाउने र नयाँ ल्याउने भन्ने छ। तर, अध्यक्ष दाहाल भने दुईजना मात्रै हटाउने अडानमा हुनुहुन्छ। यीनै अडानले मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको हो,’ स्रोतले भन्यो।
ओली र दाहालबीच यस विषयमा कुरा मिलेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ। यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा बसेका छन्। बालुवाटार स्रोतका अनुसार आगामी बिहीबारअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनामा प्रधानमन्त्री ओली छन्। यही योजनाअनुसार उनले आफ्नो गृहकार्य अगाडि बढाएका छन्।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्