काठमाडौँ — दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला भएको छ । पूर्व माओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा र खानेपानी मन्त्री बीना मगरलाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर देखिएको हो ।
प्रधानमन्त्री निकट स्रोतअनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानीमन्त्री मगरलाई हटाउने पक्षमा छन्। तर, अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने र बुहारी बीनालाई खानेपानीमन्त्रीमै यथावत राख्ने अडानमा छन्। ओली र दाहालको यही अडानका कारण मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको छ।
आफ्नो पारिवारिक कारण बुहारी समेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान दाहालले प्रधानमन्त्री समक्ष लिएका छन्। दाहाल गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन्।
दाहाल निकट एक नेताकाअनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन। सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन्। त्यसकारण उनलाई हटाएर आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन्।
अध्यक्ष दाहाल कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनीहरुको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन्। प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्दा पार्टीभित्रको शक्ति समीकरण नबिग्रने भन्दै हटाउन चाहँदैनन्।
‘प्रधानमन्त्रीको चाहना त पूर्व माओवादी तर्फका दुईजना (थापा र वर्षमान पुन) बाहेक अरु सबै हटाउने र नयाँ ल्याउने भन्ने छ। तर, अध्यक्ष दाहाल भने दुईजना मात्रै हटाउने अडानमा हुनुहुन्छ। यीनै अडानले मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको हो,’ स्रोतले भन्यो।
ओली र दाहालबीच यस विषयमा कुरा मिलेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ। यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा बसेका छन्। बालुवाटार स्रोतका अनुसार आगामी बिहीबारअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनामा प्रधानमन्त्री ओली छन्। यही योजनाअनुसार उनले आफ्नो गृहकार्य अगाडि बढाएका छन्।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’