प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि ‘बेड छैन’ भन्ने सरकारको भाषालाई लाचारी र लज्जास्पद अभिव्यक्ति भनेको छ । संकटका बेला राज्यले नागरिकलाई ढाडस दिनुपर्नेमा अस्पतालमा ‘बेड छैन’ भनेर सरकार गैरजिम्मेवार बनेको उसले आरोप लगाएको छ ।
शनिबार विज्ञप्ति जारि गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतामा विश्वास प्रवाह गर्नुपर्नेमा सरकारले त्रास फैलाएको बताएका हुन् । ‘परिस्थितिको संवेदनशीलतालाई दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वाभाविक र आवश्यक हो ।
तर संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन उसको गैरजिम्मेवार प्रवृत्तिलाई पनि पुष्टि गरेको छ ।’
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भएको काँग्रेसको भनाई छ । प्रवक्ता शर्माले सरकारले निरीहता र अयोग्यता देखाएको भन्दै यसले आजको संकट पार लगाउन नसकिने बताएका छन् ।
‘पूरै वर्ष दिन सत्ताद्वन्दमा बिताउने, संसद विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेण्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’, शर्माले प्रश्न गरेका छन् ।
काँग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपिल पनि गरेको छ ।
काँग्रेसले बेड, भेण्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिण्डरमा सरकारको वास्तविक क्षमता कति हो भनेर सरकारलाई प्रश्न सोधेको छ । थप प्रश्न गर्दै काँग्रेसले भनेको छ, ‘संक्रमणको बिस्तार कुन हदसम्म हुन सक्दछ भन्ने विज्ञ अनुमान र विश्लेषण छ । त्यो हद सामना गर्न बेडलगायतको बिस्तारमा सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ ?’
सरकार संकटका बेला हरेक नागरिकको अभिभावक हुनुपर्नेमा ‘बेडको अभाव हुन थाल्यो’ भनेर सरकार अभिभावकीय जिम्मेवारीबाट पन्छिएको काँग्रेसको ठहर छ । अभावको गीत गाएर अभिभावकत्व पूरा नहुनेमा काँग्रेसले सरकारलाई सचेत गराएको छ । ‘नेपाली काँग्रेस परिस्थितिको गम्भीरताबमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ’, प्रवक्ता शर्माले भनेका छन् ।
हिजो सरकारले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अपिल जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भनेको थियो ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’