कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल तात्यो, बुधबार कहाँ कसले के बोले ?

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल तात्यो, बुधबार कहाँ कसले के बोले ?

23414321_10213382642952684_763326964_n

पोखरा, २२ कात्तिक । आसन्न प्रतिनीधिसभा चुनाव र प्रदेश चुनावमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि ‘सेड्युल’ नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

‘प्रदेश र प्रतिनीधि सभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जनै प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध गराईसकेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने–‘एकदमै व्यवस्थित तरिकाले उहाँहरुको घरदैलो र चुनावी सभाको तयारी गरेका छौँ ।’

त्यस्तै पार्टीले प्रचारका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । पार्टीका विभिन्न संघसंस्थाहरुसँग निर्वाचन समितिले आन्तरिक सरसल्लाह समेत गरिरहेको छ । त्यस्तै उम्मेदवारहरुले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न हिसाबले प्रचारलाई तिव्रता दिईरहेका छन् ।

यसैबीच,

नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले व्यक्ति चिनेर भोट गर्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कास्की क्षेत्र नम्बर २ का जनताले भ्रष्टारको बाटोमा हिँडिरहेको नेतालाई भोट गर्न नहुने बताए । ‘जनताले यो बुझ्न जरुरी छ कि नेताले जितेर विकासका लागि केहि गर्छन् या त्यो भोटलाई कमाईखाने लाइसेन्स बनाउँछन् ?’ उनले भने–‘त्यसैले कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरा खुट्याउन आवश्यक छ ।’

केहि समय अगाडि मात्रै अखण्ड नेपाल पार्टीलाई काँग्रेसमा समाहित गराएका खड्काले रविन्द्र विरुद्ध कडा रुपमा प्रस्तुत भएका हुन् ।

‘राजनीतिक अनुशासन भएको प्रतिनीधि छनौट गर्नुहोस्’ ः देवराज चालिसे

कास्की क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका देवराज चालिसेले दुईपटकसम्म निर्वाचित भएर पनि रविन्द्र अधिकारीले पोखराको लागि केहि गर्न नसकेको बताए । पटक पटक मौका पाउँदा पनि केहि गर्न नसक्नु ‘कमजोरीको हद’ भएको उनको बुझाई छ ।

उनले कास्कीले यसअगाडिका निर्वाचित सदस्यले संसद विकास कोष वाहेक अरु कुनै शिर्षकमा पोखराको विकासका लागि वजेट नछुट्टाएको आरोप लगाए । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन ।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक स्थिरता आवश्यक हुन्छ ।’

विकास गर्नुभन्दा हुन लागेको विकासका काममा पनि ¥याल काढेर बस्ने परिपाटी यस अगाडिका निर्वाचित प्रतिनीधिले देखाएको उनले आरोप लगाए । उनले पोखरा विमानस्थलको उदाहरण दिँदै त्यहाँ पनि भ्रष्टाचार भएको माओबादीले प्रत्यक्ष रुपमै र एमालेले अप्रत्यक्ष रुपमा त्यसको भाग बाँडेको बताए ।

उनले आफु राजनीतिक रुपमा अनुशासित र आर्थिक हिसाबले पारदर्शी भएको दाबी गरे । ‘मलाई कुनै लोभ छैन । म निर्वाचित भएको खण्डमा मैले पाउने सबै तलब र भत्ता जनतालाई आवश्यक पर्ने कामका लागि खर्च गर्नेछु । त्यसको एक रुपैयाँ पनि मैले व्यक्तिगत रुपमा खर्च गर्नेछैन ।’ उनले भने । उनले एमाले र माओबादी नै धोकेबाज पार्टी भएकोले काँग्रेसलाई भोट गर्न सम्पूर्ण पोखरेलीलाई आग्रह समेत गरे ।

प्रचारप्रसारको क्रममा देवराज चालिसे बुधबार नेपाली काँग्रेसले आयोजना गरेको अखण्ड नेपाल पार्टी स्वागत कार्यक्रम, क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन, नेपाल तरुण दलको भेटघाट लगाएत पोखरा ८ को कार्यकर्ता भेलामा सहभागी भए ।

लोकतान्त्रिक सँस्कारलाई संस्थागत गर्न काँग्रेसलाई भोट ः गुरुप्रसाद बराल

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख)का प्रादेशिक उम्मेदवार गुरुप्रसाद बरालले एमाले र माओबादी संविधानको हत्यारा भएको बताएका छन् । उनले यी दुई वामपन्थी पार्टीको तर्फबाट ४ पटकसम्म सरकारको नेतृत्व गर्दा पनि देशलाई गति दिन नसकेको आरोप लगाए ।

काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता संविधान विरोधी पार्टीलाई भोट हाल्न जनताको हात काम्नुपर्ने बताए । ‘यीनै वामपन्थीहरुले नै पहिलो संविधानसभाको हत्या गरेका हुन् । र, अहिले पनि यीनीहरु संविधान रोक्ने प्रपञ्च रचिरहेकै छन् ।’ बरालले भने–‘वाम गठबन्धनको नाटक यहि गलत सोँच सहित रचिएको हो ।’ उनले जनतालाई सहि सँस्कार छान्न आग्रह समेत गरे ।

यद्यपी काँग्रेसले संविधान बनाउन र यसलाई संस्थागत गराउनका लागि निकै ठुलो भुमिका खेलेको उनले बताए । ‘यदि काँग्रेसको अग्रसरता नहुँदो हो त देशलाई यी दुई वामपन्थी भनाउँदाहरुले उहिल्यै सिध्याईसकेका हुन्थे ।’ बरालले भने ।

‘नेपाली काँग्रेसले नै जनतामा लोकतान्त्रिक सँस्कार बसाएको हो । र, यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागिपरेकै छ ।’ उनले भने–‘तर अहिले गठबन्धनको नाममा वामपन्थीहरुले झुटको खेती गरिरहेका छन् ।’ उनले वामपन्थीहरुको अहिलेको विचारलाई ‘स्यालको हँुकार’को संज्ञा दिए । यद्यपी नेपाली काँग्रेसलाई उनले हात्तिको रुपमा व्याख्या गरे ।

उनले अस्थिर राजनीतिको पक्षपोषणमा वामपन्थीहरु लागिरहेको र उनीहरु जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले स्थिर राजनीतिका लागि काँग्रेसलाई जिताउन उनले अपिल गरे । ‘अस्थिरताको जड रोज्ने कि स्थिर काँग्रेसलाई भोट गर्ने ? यो कुरा भने जनताले छुट्टाउन आवश्यक छ ।’ बरालले भने । राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिका लागि नेपाली काँग्रेसले जित्न आवश्यक रहेको भन्दै वामपन्थीहरुको ‘हावा गफ’मा नफकिन उनले जनतासमक्ष आग्रह गरे ।

‘कम्युनिष्टहरु देशविरोधी हुन्, उनीहरुबाट देशले निकाश पाउँदैन ।त्यसैले देशको सम्बृद्धि र लोकतान्त्रिक सँस्कारको लागि काँग्रेसको विकल्प कुनै दल पनि छैनन् ।’ बरालले भने ।

‘स्थानिय चुनावको क्षतीपुर्ती अहिले लिन्छौँ’ ः बिन्दुकुमार थापा

काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि काँग्रेस अपरिहार्य हुने उल्लेख गरे । ‘२०७० को संविधानसभा चुनावमा कास्की काँग्रेसको ठूलो क्षति भएको छ । स्थानीय चुनावमा पनि हामी पराजीत भयौं, उनले भने–सबै चुनावको सावा ब्याज सहित अहिले फर्काउने बेला आएको छ । हामी क्षति असुल गरिछाड्छौं ।’

थापाले पोखराका विकासे मुद्धा आफ्नो प्रमुख एजेण्डा भएको बताए । लामो समयदेखि अन्तराष्ट्रिय विमानस्थल निर्माण आँफुले अगुवाई गरेको भन्दै विमानस्थल निर्माण गरेर पोखरेलीको लामो पखाई पूरा गर्ने थापाको प्रतिबद्धता छ । उनले पोखरा चक्रपथ र सुविधासम्पन्न बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन् ।

काँग्रेसको जित निस्कनै पर्छ ः आनन्दराज मुल्मी

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ बाट समानुपातिक प्रतिनीधि सभाका उम्मेदवार आनन्दराज मुल्मीले कास्कीमा काँग्रेसले जसरी पनि जित निकाल्नैपर्ने स्थिती आएको बताएका छन् । काँग्रेस क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यो क्षेत्र प्रदेशकै सम्बृद्धिसँग जोडिएकोले काँग्रेसको जित यहाँ आवश्यक रहेको बताए ।

काँग्रेसको जितले मात्रै यस क्षेत्र र प्रदेशकै सम्बृद्धि सम्भव रहेको उल्लेख गर्दै काँग्रेसले चुनौती लिएर अगाडि बढ्नुपर्ने बताए । ‘काँग्रेसले सँधै चुनौतीको सामना गर्दछ । र, यो चुनौती सामना गर्दै काँग्रेसले आफुलाई प्रमाणित पनि गरेर देखाउनेछ ।’ उनले भने ।

काँग्रेस क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन प्रचार सँयोजक सोभियतबहादुर अधिकारीको सभापतित्वमा भएको थियो ।

त्यस्तै बुधबार आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस कास्की वडा नम्बर ८ मा कार्यकर्ता भेला भएको छ । वडा नम्बर ८ इकाइ सभापति सुवास सिग्देलको सभापतित्वमा बसेको भेलाले चुनावमा कसरी काँग्रेसको पक्षमा जित निकाल्ने भन्ने विषयमा छलफल गरेको थियो ।

भेलालााई इकाई सचिव कृष्णमान थुसाजुले संचालन गरेका थिए । सोहि भेलाको वडा नम्बर ८ का अनिल केसी र नयाँ शक्तिका सचिवालय सदस्य राजु पौडेल नेपाली काँग्रेसमा प्रवेश समेत गरेका थिए ।

यस्तै यता जिल्ला पार्टी कार्यालयमा तरुण दलको भेला समेत बसेको थियो । चुनावको बेलामा तरुण दल कसरी परिचालित हुने भन्ने विषयमा भेलामा छलफल भएको थियो । सोहि भेलाको क्रममा एमाले निकट अनेरास्ववियु पृथ्वीनारायाण क्याम्पसका पुर्व अध्यक्ष गणेश रोकाया पनि नेपाली काँगे्रस प्रवेश गरेका थिए । नेविसंघ पृना क्याम्पस पुर्व सभापति गोपाल गुरुङ र हालका इकाइ सभापति दीपक वाग्लेले रोकायालाई काँग्रेस प्रवेश गराउनका लागि भुमिका खेलेका थिए ।

कास्की क्षेत्र नम्बर १ मा काँग्रेसको घरदैलो शुरु

नेपाली काग्रेस कास्की क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका छन् । प्रतिनीधिसभा प्रत्यक्ष तर्फ यज्ञबहादुर थापासँगै प्रदेश क का उम्मेदवार जीवन परियार र प्रदेश ख का उम्मेदवार कृष्ण केसीले घर दैलो अभियान शुरु गरेका छन् ।

परियारले पोखरा लेखनाथ ३० शिशुवामा अवस्थीत चुनावी प्रचार कार्यलयको उद्घाटन गर्दै घर दैलो अभियान शुरु गरेका छन् ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका परियार आफूले यस क्षेत्रको सर्वाङ्गिण विकासमा पहिलो प्रथामीकता दिनेमा जोड दिएका छन् । त्यसै गरी नेपाली काग्रेस कास्की क्षेत्र नं १ क अन्तर्गत प्रचार समिति गठन गरेको छ । क्षेत्रीय उपसभापती शरदराज सुवेदीको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो । समितिले क्षेत्र नं १ भित्र दैनिक प्रचार प्रशार कार्यक्रम समेत सार्वजनिक समेत गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले पनि घरदैलोलाई तिव्र पारेको छ। मङ्गलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० मा घरदैलो गरेको काँग्रेसले बुधबार वडा नं १२ मा घरदैलो गरेको निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङले जानकारी दिईन्।
घरदैलोमा कानुन मन्त्री तथा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसी, जिल्ला सदस्य नवीन सिग्देल, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ लगायत सैयौंको संख्यामा नेता तथा कार्यकर्ता सहभागि थिए।

पूरानोधारबाट शुरु भएको घरदैलो सितलादेवी, माटेपानी, लालिगुँरास टोल, अन्नपूर्णटोल, माछापूच्छ«ेटोल, हस्पिटलचोक लगायतका क्षेत्र पुगेको थियो। यसैवीच, पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ पुरानोधारामा स्थापना गरिएको इकाइको प्रचार कार्यालय पनि बुधबार नै उद्घाटन गरिएको छ।

कार्यक्रममा कानुन मन्त्री एवं क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदबार यज्ञबहादुर थापाले लोकतन्त्र जनताको चाहाना भएको उल्लेख गरे। उनले काँग्रेसले मात्र मुलुकको हित गर्न सक्ने दावी गरे।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले ढुक्क भएर काँग्रेसमा मतदान गर्न आग्रह गरे। कास्की काँग्रेसका सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसीले राष्ट्रसेवा र जनसेवाका लागि समर्पित भएर लाग्ने बताए।

त्यसअवसरमा समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ, काँग्रेस क्षेत्र नं १ कास्कीका सचिव कृष्ण कोइराला लगायतले बोलेका थिए। नेपाली काँग्रेस वडा इकाइ समिति –१२ का सभापति राधेश्याम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामजी बास्तोलाले संचालन गरेका थिए।

त्यस्तै कास्की क्षेत्र नम्बर ३ पनि काँग्रेसका उम्मेदवारहरु प्रचारमा खटिए । प्रतिनीधिसभाका प्रत्यक्ष उम्मेदवार शुक्रराज शर्मा सहित प्रादेशिक उम्मेदवारहरु शारदा पौडेल, शिकन्दर गुरुङ ‘भोजबहादुर’ र अन्य समानुपातिक उम्मेदवारहरु पनि भोट अपिल गर्दै आफ्नो क्षेत्रमा दौडधुप गरिरहेका छन् । यसैक्रममा त्यस क्षेत्रमा निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न उपसमितिहरु समेत गठन भएको कास्की काँग्रेसले जनाएको छ । क्षेत्र नम्बर ३ को प्रचारप्रसारका लागि पनि सराङकोटमा सम्पर्क कार्यालय बुधबार उद्घाटन गरिएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds