कोदो फल्ने बारीमा सयपत्री

कोदो फल्ने बारीमा सयपत्री

Flower-3

कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् ।

बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरेर सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।

जिल्लाका कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका तथा गल्याङ, चापाकोट र वालिङ नगरपालिकामा व्यावसायिक सयपत्री फूलखेती भइरहेको छ ।

कालीगण्डकी गाउँपालिका–७ बारीचौरका ७१ वर्षीय धनबहादुर थापाले पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले चार रोपनी जग्गामा कर्मा–५५५ जातको सयपत्री लगाएका छन् । यस आर्थिक वर्षमा साढे चार क्विन्टल फूल उत्पादन भएको उनले बताए ।विगतमा सोही बारीमा कोदो खेती गर्दै आएका थापाले फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खेती परिवर्तन गरेका हुन् । गत आर्थिक वर्षमा उनले ६ क्विन्टल फूल उत्पादन गरेका थिए । प्रतिकिलो २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरेर एक वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए ।

यस वर्ष फूल चाँडै रोपिएको र तिहार ढिलो परेकाले बिक्री व्यवस्थापनमा केही समस्या भए पनि आम्दानी भने राम्रो भएको थापाको भनाइ छ ।

कालीगण्डकी गाउँपालिका–२ लसर्गाकी पुष्पा सिंह रानाले पनि चार वर्षदेखि दुई रोपनी जग्गामा फूलखेती गर्दै आएकी छन् । गत वर्षको तुलनामा यसपालि उत्पादन घटे पनि चार क्विन्टल फूल उत्पादन भएको उनले बताइन् ।

त्यस्तै, वडा नम्बर ५ बासटारीका रविलाल गौडेलले साढे दुई रोपनीमा फूलखेती गरेका छन् । फूल बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । नर्सरीमा अझै फूल रहेकाले तिहारसम्म सबै बिक्री हुने उनको अपेक्षा छ ।कालीगण्डकी गाउँपालिकाले सुरुमा आफैं फूलखेती गरेर किसानलाई यसतर्फ आकर्षित गरेको थियो । फूल उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई दुई वर्षसम्म प्रतिरोपनी नौ हजार रुपैयाँ अनुदान र बीउ उपलब्ध गराइएको गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टीकाकुमारी क्षेत्रीले जानकारी दिइन् । पालिकाले पनि दुई वर्ष आफैं खेती गरेर वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार चालु आर्थिक वर्षमा यहाँका किसानले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फूल बिक्री गर्ने अनुमान छ । सात वडा रहेको गाउँपालिकामा वडा नम्बर ४ बाहेक अन्य वडाका १५ किसानले करिब ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् ।

गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर रानाले यस वर्ष दुई क्विन्टल फूल उत्पादन गरेर बिक्री गरिसकेका छन् । फूल चाँडै रोपिएकाले दशैंदेखि नै बिक्री सुरु गरेको उनले बताए । अहिले आफ्नो बारीमा थोरै मात्र फूल बाँकी रहेको उनको भनाइ छ ।रानाले पाँच वर्षदेखि मौसमी तथा बेमौसमी फूलखेती गर्दै आएका छन् । गल्याङ नगरपालिकामा उनले करिब १३ रोपनी क्षेत्रफलमा फूलखेती गरेको बताए ।

जिल्लामा फूलको व्यावसायिक उत्पादन बढ्दै गएपछि बाहिरी जिल्लाबाट फूल र माला आयात गर्ने क्रमसमेत घट्न थालेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसान पनि खेती विस्तार गर्न उत्साहित भएका छन् । स्याङ्जामा उत्पादित फूल तथा माला अहिले पोखरा र बुटवलसम्म पुग्न थालेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ