सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित

सम्मान र पुरस्कार

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित

यो पुरस्कार गन्तव्य नभई नयाँ सुरुवातः प्रेन्सा

sarubhakta prensa (1)

पोखरा। सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित भएकी छन् । उनलाई ५० हजार रुपैयाँ नगद राशि तथा सम्मानपत्रसहित  सम्मान गरिएको हो ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच पोखराका मेयर धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले उनलाई सो पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्यसमितिले अनुमोदन गर्दै उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो।

पुरस्कार छनोट समितिका संयोजक डा ईश्वरमणि अधिकारीका अनुसार प्रेन्साले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई पुरस्कारका लागि छनोट गरिएको हो। बालप्रतिभा कला, साहित्य, संगीत र खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना, मानवीय सेवा र समाज रूपान्तरणप्रतिको प्रतिबद्धतामा पनि अभिव्यक्त हुन्छ भन्ने मान्यतालाई यो छनोटले आत्मसात् गरेको छ।

वि.सं. २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा नम्बर ११ फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन्।

कोभिड-१९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र कपडा उपलब्ध गराउनेलगायतका मानवीय कार्य उनले गरेकी थिइन्। कपडा बैंक स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने काममा पनि उनको सक्रियता छ।

सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेयर आचार्यले बालबालिकालाई आफ्नो इच्छा अनुसार काम गर्न दिनुपर्ने भनाइ राखे । प्रेन्साका अभिभावकले उनको भावना बुझेर त्यसै अनुसार व्यवहार गरेका कारण उनी अहिले यो अवस्थामा आइपुगेको बताए । पुरस्कार स्थापना गर्ने सरुभक्त सरोकार केन्द्रलाई उनले आभार व्यक्त गरे ।

साहित्यकार सरुभक्तले अन्य क्षेत्रमा प्रशस्त पुरस्कार भएपनि बालबालिकाका क्षेत्रमा कम भएकै कारण केन्द्रले यो थालनी गरेको बताए । बालबालिकालाई प्रेरणा र हौसला दिनु भनेको बिरुवामा पानी हाल्नु सरह रहेको उनको भनाइ थियो ।

तीर्थ श्रेष्ठ र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले शुभकामना व्यक्त गरे। संस्थाका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले स्वागत मन्तव्य राखेकी थिइन् भने पुरस्कार छनोट समिति संयोजक डा. ईश्वरमणि अधिकारीले स्रष्टाको परिचय दिएका थिए। कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए।

प्रेन्सा अध्ययनरत गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्तीले प्रेन्साले विद्यालयमा पारेको प्रभावका बारेमा भनाइ राखे । उक्त अवसरमा ८ वर्षे भूमिलक्ष्मी पराजुलीले आफू ६ वर्षकी हुँदा लेखेको पुस्तकबाट कथा वाचन गरेकी थिइन् ।

पुरस्कार ग्रहण गरेपछि मन्तव्य राख्दै सम्मानित व्यक्तित्व प्रेन्सा रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति नचाहिने बताइन्। ‘हामी बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका परिवर्तनकारी शक्ति हो,’ उनले भनिन्, ‘आज यदि कुनै बालबालिकाले आफ्नो साथीमा भइरहेको विभेद अन्त्य गर्नको लागि त्यसविरुद्ध आवाज उठाउँछ भने त्यो परिवर्तन हो।’ परिवर्तन सानो कदमबाट सुरु हुने बताउँदै उनले आफ्नो उमेर र परिस्थिति लाई आफ्नो सीमा वा पहिचान नबनाउन आग्रह गरिन्।

समाजसेवा भनेको अरूको पीडा महसुस गर्ने र अन्यायको समाधानका लागि जिम्मेवार कदम चाल्ने कुरा भएको उनले स्पष्ट पारिन् । ‘हामीले समाजमा विद्यमान धेरै चुनौतीहरू देखिरहेका छौँ,’ उनले भनिन्, ‘बालबालिकामाथि हुने हिंसा, बालविवाह, सामाजिक कुरीति, लैंगिक विभेद, शिक्षामा असमान पहुँच, आर्थिक असमानता र अधिकारबाट वञ्चित समुदायका समस्याहरू अहिले पनि हाम्रो समाजमा विद्यमान छन्।’ उनले थपिन् । शिक्षाको अधिकारबाट वञ्चित गर्नु भनेको सम्भावित वैज्ञानिक वा नेतृत्वकर्ता गुमाउनु सरह भएको उनको भनाइ थियो।

सामाजिक न्याय कुनै दया नभई प्रत्येक व्यक्तिको अधिकार भएको उनले बताइन्। ‘सहयोगको वास्तविक अर्थ कसैलाई आफ्नो छायाँमा राख्नु होइन, प्रत्येकलाई आफ्नो खुट्टामा आफैँ उभिन दिन सक्ने अवसर प्रदान गर्नु हो,’ उनले भनिन्। आगामी दिनमा बालअधिकार, महिला अधिकार र हिंसामुक्त समाज निर्माणका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाउँदै उनले यो पुरस्कार आफ्नो गन्तव्य नभई नयाँ सुरुवात भएको बताइन्।

१६ वर्ष मुनिका बालप्रतिभाहरूलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमै स्थापित पुरस्कार हो। बीचमा केही वर्ष रोकिएपछि सरुभक्त केन्द्रको स्थापनासँगै अघिल्लोपटकबाट पुनः पुरस्कार वितरण गर्न थालिएको हो। यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन्।

तस्वीरः परिचय

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ