पोखराको जनप्रियमा नेपालमै नयाँ विषय ‘Mountain Tourism’, फिल्ड भिजिटलाई फोकस्

पोखराको जनप्रियमा नेपालमै नयाँ विषय ‘Mountain Tourism’, फिल्ड भिजिटलाई फोकस्

JMC

रञ्जन अधिकारी पोखरा, २४ कार्तिक / नेपाली परिवेशमा सुहाउँदो व्यवहारिक शिक्षा प्रणाली नभएको गुनासो छ । हिमालय पर्वतले पूर्ण हाम्रो देशमा यस विषयमा दक्ष जनशक्ति कसरी उत्पादन भएका थिए होेलान् ?

अहिलेसम्म पर्वतीय पर्यटन विषयमा छुट्टै कोर्स सञ्चालन हुन सकेका थिएन । अब भने पर्वतीय पर्यटनकै विषयमा स्नातक तहको पूर्ण कोर्सको पढाई नेपालमा नै सुरु भएको छ । पर्यटकीय शहर पोखरामा जनप्रिय बहुमुखी क्याम्पसले यही वर्षदेखि यो नयाँ विषय ‘माउन्टेन टुरिज्म म्यानेजमेन्ट’ पठनपाठन सुरु गर्दैछ ।

त्रिभुवन विश्वविद्यालय स्वायत्तत्ता सम्बन्धी नियम २०६२ अन्तर्गत रहेर यस क्षेत्रलाई सुहाउने र नेपालमा नै पहिलोपटक नयाँ विषयको रुपमा स्नातक तहमा चार वर्षे सेमेस्टर प्रणाली अन्तर्गत पाठ्यक्रम तयार गरी त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयको विषय समितिद्वारा निर्णय गरी त्यसको डिग्री कायम भई त्रिवि प्राज्ञिक परिषद्ले पास गरी गत कार्तिक १० मा वषेको त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार यस विषयलाई प्राज्ञिक स्वायत्तता प्राप्त भएको हो । पाठ्यक्रम समयानुकुल हेरफेर गर्ने अधिकार रहनेछ ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेको क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरित गर्ने लक्ष्यका साथ अघि बढिरहँदा यस विषय भित्रनु खुशीको विषय भएको बताए ।

यो प्रदेश पर्वतीय पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि यस विषयमा दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए । विषयगत ज्ञानले मुलुकमै पर्यटनको क्षेत्रमा फाईदा पुग्ने उनको भनाई छ ।

ब्याचलर तहमा आठ सेमेष्टर रहने यस कोर्षमा फिल्ड भिजिटलाई बढी जोड गरिएको छ । बिबिए प्रोग्राम कोओर्डिनेटर मेखराज पौडेलका अनुसार ग्रेड सिस्टममा परीक्षाफल प्रकाशन हुनेछ ।

चार वर्षमा कूल ३९ विषय समेटिने यस कोर्षमा व्यवस्थापनका आवश्यक विषयदेखि पर्यटनसँग सम्बन्धित १५ विषय, सामाजिक विज्ञान, कम्युनिकेशनका कोर्सहरु रहनेछन् । सातौं र आठौं सेमेस्टरमा अन्तर्राष्ट्रि भाषाको विषय समेत हुनेछ । विद्यार्थीले जापानिज, कोरियन, चाईनिज र फ्रेन्च भाषा छनौट गर्न सक्नेछन् । बल्ल यो कोर्स सुरु हुने भएकाले तीन वर्षपछि मात्र यस कोर्समा उनीहरु पुग्नेछन् ।

क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरी यस विषयबारे जानकारी गराएको हो । प्रमुख आमन्त्रित व्यक्तित्व पर्यटन विषयमा विज्ञ प्रा.डा. रमेशराज कुँवरले ६७ वर्षको नेपालको पर्यटनको इतिहासमा कम्तिमा ३० वर्ष अघि नै यो विषय हुनुपर्नेमा बल्ल सुरु हुँदा आफू जत्तिको खुशी अरु कोहि नभएको बताए । त्रिविले सञ्चालन गरेकै वर्ष जनप्रियमा पहिलो वर्ष नै यस विषय सञ्चालन हुन लागेकाले चुनौति समेत रहेको हुँदा यसलाई सफलतापूर्वक सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको जनाए ।

‘नेपाल मात्र यस्तो देश हो, जहाँ यस विषयमा आवश्यक हरेक स्रोत साधन र आवश्यक पूर्वाधार छ ।’ उनले भने ‘कति देशमा पर्वतीय पर्यटनको सम्भावना नै छैन, कुनैमा ईच्छाशक्ति नै छैन ।’

यही कार्तिक २३ देखि मंसीर १२ सम्म फाराम वितरण, मंसीर १४ गते प्रवेश परीक्षा तोकिएको छ । हाललाई जनप्रिय क्याम्पसले पहिलो ब्याचमा २५ जनालाई मात्र छनौट गर्ने जनाएको छ । क्याम्पसका सह क्याम्पस प्रमुख भेषराज बरालले मास कम्युनिकेशनका कक्षाको पनि अनुमति प्राप्त गरेको जनाए ।

जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगल तोकेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मापदण्ड पूरा गरी क्यूएए –गुणस्तर प्रत्यायन को प्रमाणपत्र क्याम्पस हो । क्याम्पसमा बिबिए लगायत विभिन्न संकाय गरी साढे चार हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds