कास्की क्षेत्र न १ खगराज अधिकारी (एमाले): लोकतन्त्र दरबारमा बुझाउनेले लोकतन्त्र नसिकाऊ 

कास्की क्षेत्र न १ खगराज अधिकारी (एमाले): लोकतन्त्र दरबारमा बुझाउनेले लोकतन्त्र नसिकाऊ 

Khagaraj Adhikari

कास्की १ मा वाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारीले वाम गठबन्धनले २ तिहाइ ल्याए पनि अहिलेको शासन व्यवस्थामा परिवर्तन नहुने बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संरक्षण वामपन्थीबाट मात्र हुन सक्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दैै उनले वामपन्थीले जिते अधिनायकतावाद आउँछ भन्दा कसैले नपत्याउने उल्लेख गरे । अधिकारीले भने, ‘हामीलाई लोकतन्त्र र अधिनायकवादको पाठ सिकाउन पर्दैन । दरबारमा लोकतन्त्र बुझाउनेले के सिकाउनु ?’
लोकतन्त्रिक व्यवस्थाका लागि नेपालमा कांग्रेसभन्दा बढी कम्युनिस्टहरुकै रगत र पसिना बगेको भन्दै उनले बरु कांग्रेसलाई लोकतन्त्रको सम्मान गर्न आग्रह गरे । उनले भने, ‘बादल हत्याकाण्ड छानबिन गर्न पर्छ कि पर्दैन ?’

पोखरा लेखनाथ महानगरपालिका २७ का रिठ्ठेपानी र अर्घाैअर्चलेमा आयोजित छुट्टाछुट्टै कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  अधिकारीले आर्चलेलाई साहित्यिक पर्यटकीय स्थल बनाउन पहल गर्ने बताए ।

वाम गठबन्धनबाट कास्की १ कका उम्मेदवार दीपक कोइराला ‘रुपक’ले कृषिमा आधुनिकीकरण गरी समतामूलक समाज नै आफूहरुको उद्देश्य भएको बताए । स्थिर सरकार र सुन्दर भविष्यका लागि वामको जित आवश्यक भएको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले अब लोकतन्त्र खतरामा पर्छ भने सामन्त वर्गबाटै पर्ने जिकिर गरे । उनले भने, ‘सर्वहारा लोकतन्त्रका संरक्षक नै हुन् ।’

एमाले नेता श्रीनाथ बरालले विकास र समृद्धिका लागि वाम गठबन्धनको जित अवश्यक रहेको र जनताले पनि यसमा साथ दिने विश्वास व्यक्त गरे ।

सुखदुःखको साथी बन्छु ः मनबहादुर

कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफू जनताको सुखदुःखको साथी भएको बताएका छन् । घरदैलो अभियानका क्रममा सोमबार पोखरा–१०, जनप्रिय टोलमा आयोजित कोणसभामा गुरुङले चुनाव जितेपछि पनि आफू सधैं जनताको साथमा रहने प्रतिवद्धता गरे ।

‘स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणका लागि मैले नेतृत्व गर्नेछु,’ उनले भने । आर्थिक समृद्धि र रोजगारीको सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आधुनिक कृषि सहकारी प्रणालीको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बाम गठबन्धनले चुनावी अभियानलाई तिब्र बनाएको छ । बुधबार सिक्लेस, पार्चेमा घरदैलो गरेका उनीहरुले बिहीबार मादी गाउँपालिकाको ताङतिङमा घरदैलो तथा चुनावी सभा गरे ।

चुनावी अभियानका क्रममा ताङतिङ पुगेका उम्मेदवारहरुलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । बाम गठबन्धनले जितेमा पाँच वर्षे सरकार बनाउने र गाउँगाउँको विकास गर्ने उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार खगराज अधिकारीले बाम गठबन्धनको संयुक्त सरकार बनाउने मौका दिन आग्रह गरे । चुनाव जितेपछि पाँच वर्षसम्म जनताको सेवा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘अहिले हामीले काम गर्ने अवसर दिन भोट मागेका छौं,’ उनले भने, ‘अर्को पटक हाम्रो कामले नै जनताले मत दिनेछन् ।’ कसैलाई पक्षपात नगरी आफ्नो क्षेत्रको विकास गर्ने उनले बताए ।

प्रदेशसभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफूलाई विजयी बनाएर अबसर दिएमा आफ्ना मतदाता प्रति सधैं उत्तरदायी बन्ने प्रतिबद्धता व्यक्त गरे । ‘म सधैं यही ठाउँको विकासमा सक्रिय छु,’ उनले भने, ‘अत्याधिक मतले विजयी गराई काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङले बाम गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै आफ्नो क्षेत्रको विकासमा सक्रिय हुन उम्मेदवारहरुलाई आग्रह गरे । बठबन्धन र उम्मेदवारहरुका प्रतिबद्धता पुरा गराउन आफूहरुले सघाउनले उनले बताए ।

एमाले प्रदेश नम्बर ४ संगठन कमिटिका सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक श्रीनाथ बरालले मादी गाउँपालिकाको सिक्लेस, ताङतिङ लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा जलविद्युतको प्रवद्र्धन गर्न बाम उम्मेदवारको जीत आवश्यक रहेको धारणा राखे । ‘यस क्षेत्रको विकासका लागि बाम उम्मेदवार विजयी बन्न आवश्यक छ,’ उनले भने, ‘राष्ट्रलाई समृद्ध बताउने अभियानमा हामी छौं ।’

मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ ‘श्याम’ले बाम गठबन्धनका दुवै दल गरिब तथा उत्पीडित जनताको पक्षमा लड्ने भएकाले बाम उम्मेदवार अधिकारी र गुरुङलाई जिताउन आग्रह गरे । ‘सबैको हित र देशको विकास गर्न बाम उम्मेदवारले जित्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लालबहादुर गुरुङले देशको समृद्धिको लक्ष्यसहित एमाले र माओवादी एक भएको बताउँदै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । ‘देश र जनताको उन्नतिका लागि बाम गठबन्धनको जित आवश्यक छ,’ उनले भने, ‘नयाँ नेपाल निर्माणका लागि बाम गठबन्धनले अत्याधिक सिट जित्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ