पोखराका मनकारी भीमसेन, जसले दिए दृष्टिबिहीनलाई करोडको घडेरी

पोखराका मनकारी भीमसेन, जसले दिए दृष्टिबिहीनलाई करोडको घडेरी

Bhimsen 1

पोखरा । पुर्ख्यौली सम्पतिको नाममा बुबाबाट जम्मा ३ आना जग्गा मात्र लिएर आजिवन अगाडि बढाएका भीमसेनले व्यक्तिगत संघर्षबाट सन्तोष मान्ने हिसाबले कमाए । उनी पोखराका प्रतिष्ठित धनाढ्य व्यक्तिमा भने गनिदैनन्। पोखरामा भीमसेन भन्दा धनाढ्यको सूचीमा धेरैको नाम आउँछ । तर भीमसेन तिमिल्सिना एउटा यस्तो अपवाद भए, धनीहरुका बीचमा मनकारीका रुपमा ।

पोखरा १४ निवासी भीमसनेको मन कति फराकिलो छ भन्ने एउटा प्रमाण उनले शनिबार प्रस्तुत गरेका छन् । १ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा सामाजिक संस्थालाई सहयोग गर्नु उनको सानो योगदान होइन । ‘यो संसारलाई बाहिरी आँखाले हेर्न नसक्नेहरुको आश्रयस्थलका लागि जग्गा सहयोग गर्न पाउँदा निकै खुसी छु,’ यति भन्दा उनको आँखा आसुले भरिएका थिए । आँखामा टिलपिल आँसु खसाल्दै भीमसेन बोलिरहँदा पोखरा सभागृह हल भरी रहेकाहरु पनि भावुक बने ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको शनिबार पोखरामा आयोजित दोस्रो क्याबिनेट मिटिङमा उनले नेत्रहीन संघ कास्कीलाई उक्त जग्गा हस्तान्तरण गरेका हुन् । अभिभावक बिहीन तथा अनाथ दृष्टिबिहीनहरुका लागि आश्रयस्थल निर्माण गर्न आफूले जग्गा सहयोग गरेको उनले बताए । श्रीमती बन्दना र छोरा बिराटको साथमा भीमसेनले जग्गा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटी र डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जग्गाको लालपूर्जा संघलाई हस्तान्तरण गरेका छन् । पोखराको विजयपुरमा रहेको उक्त जग्गाको क्षेत्रफल ५ आना २ पैसा क्षेत्रफल छ । उक्त अवसरमा बोल्दै गभर्र्नर आचार्यले समाज परिवर्तन गर्न भीमसेन जस्ता मनकारीहरु आवश्यक रहेको धारणा राखे । उदाहरणीय कार्य गरेको भन्दै भीमसेन परिवारलाई आचार्यले सो अवसरमा सम्मानसमेत गरेका छन् ।

संघको कार्यालय लेखनाथस्थित बुढिबजारमा छ । नेत्रहिनहरुलाई कम्प्युटर सहयोग गर्न केही महिना अगाडि भीमसेन संघको कार्यालय पुगेका थिए । लायन्स क्लब अफ पोखरा चौतारीको समन्वयमा एउटा कम्प्युटर सहयोग गर्न संघमा पुगेका उनले तत्कालै ६ वटा सहयोग गरेका थिए । उनको सहयोग ६ वटा कम्प्युटरमा मात्र सीमित रहेन १ करोडको घडेरीसम्म आइपुगेको छ । ‘आगामी दिनमा पनि यस्ता सामाजिक काममा म सक्रिय रहनेछु,’ उनले भने ।

भीमसेन लायन्स क्लब अफ पोखरा चौतारीका सदस्यसमेत हुन् । सामाजिक काम गर्न लायन्सबाट आफूले प्रेरणा पाएको भीमसेनले बताए । क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्टका सिनियर एओजी मोहनबाबु खड्काले भीमसेनले नेत्रहिन संघलाई महत्वपूर्ण स्थानको जग्गा सहयोग गरेर उदाहरणीय काम गरेको बताए । भीमसेनबाट प्राप्त जग्गालाई सदुपयोग गरी आश्रमस्थल बनाउँदै आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

सुरेन्द्र पौडेल/ खबरसेवा डटकम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ