पोखरामा सिसि क्यामेरा जडान गर्न दिनदिनै छलफल, यातायात, पर्यटन व्यवसायीले सघाउने

पोखरामा सिसि क्यामेरा जडान गर्न दिनदिनै छलफल, यातायात, पर्यटन व्यवसायीले सघाउने

Fewataal

पोखरा, ४ मंसिर । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई स्मार्ट सिटी बनाउनको लागि सिसी क्यामेरासहितको सुरक्षा व्यवस्था पहिलो पाइला भएको बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीहरुसँग सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई अगाडि बढाउनको लागि सोमबार आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताए ।

‘सिसी क्यामेरा जडानको लागि पोखरा लेखनाथ महानगरपालिकामा अप्टिकल फाइबर बिच्छ्याइन्छ, त्यो फाइबर भोली सरकारी कार्यालयहरुबाट लिइने सुविधा घरमै बसेर लिने प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ’,उनले भने ,‘भोलीको स्मार्ट सिटीको लागि अहिलेबाट नै सोच्नु जरुरी छ ।’ उनले सिसी क्यामेरा जडान अभियानलाई सघाउन पर्यटन व्यवसायीहरुसँग आग्रह पनि गरे । सुरक्षा संवेदनशीलता पर्यटन उद्योगको पहिलो सर्त भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीहरुले सिसी क्यामेरा जडान अभियान स्वागतयोग्य भएको भन्दै सो अभियानलाई सघाउने बचनवद्धता प्रकट गरे । पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले यो अभियानको सबैभन्दा ठूलो साझेदार पोखरा लेखनाथ महानगर नै हुनपर्नेमा जोड दिए । अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेलले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप संचालन गरिने यो परियोजना आफैमा स्वागतयोग्य रहेको बताउँदै विकास अभियानलाई अगाडि बढाउने दायित्व राज्यको भएकोमा जोड दिए । अर्का पर्यटन व्यवसायी चिरञ्जीवी पोखरेलले सिसी क्यामेराको मर्मतको लागि विशेष समिति बनाउनु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले सुरक्षाको लागि सिसी टिभी अपरिहार्य भएकोले यो अभियानलाई सक्दो छिटो अगाडि बढाउनु पर्नेमा जोड दिए । रेवानका पूर्व अध्यक्ष गोपी भट्टराईले सिसी क्यामेरा जडानसँगै त्यसको संचालनमा उत्तरदायित्वपूर्ण भूमिका निभाउने संयन्त्र बनाउन सुझाव दिए । यसैगरी पर्यटन व्यवसायी योगेश भट्टराईले जडानसँगै दीर्घकालीन संचालनको लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।अर्का पर्यटन व्यवसायी कृष्णप्रसाद भण्डारीले सुरक्षित पोखरा बनाउने अभियानलाई राज्यले पनि सघाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख एसपी अशोक सिँहले प्रविधी मैत्री सुरक्षा व्यवस्थाको लागि सिसी क्यामेरा अपरिहार्य भएको बताउँदै यो अभियानलाई सघाउन सबैसँग आग्रह गरे ।

सिसी क्यामेरा जडानमा यातायात व्यवसायीले सघाउने

पोखरा, ३ मंसिर । ‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई पोखराका यातायात व्यवसायीहरुले सघाउने भएका छन् ।

अभियानलाई गति दिनको लागि पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित यातायात व्यवसायिसँग सम्बन्धित संघ÷संस्थाका प्रतिनिधीहरुले सिसी क्यामेरा जडान अभियान पोखराको पूर्वाधार र सुरक्षासँग जोडिएकोेले आफूहरुले सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका संस्थापक अध्यक्ष हरिप्रसाद खनालले सुरक्षा यातायात व्यवसायीहरुको पहिलो चासो भएकोले यो अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा यातायात व्यवसायी बाबुराम गिरीले पोखरा भित्रने नाकाहरुको सुरक्षामा विशेष व्यवस्था हुनुपर्नेमा जोड दिए । जडानसँगै यसको दीगो संचालनको बारे निश्चित योजना हुनुपर्नेमा उनको जोड थियो । गण्डकी धौलागिरी यातायातका पूर्व अध्यक्ष बसन्त प्रधानले पोखराको पूर्वाधार निर्माणमा यातायात व्यवसायीहरुले सक्दो योगदान गरेको उल्लेख गर्दै यो अभियान अपवाद नहुने बताए । उहाँले सबै सरोकारवालाहरुको यो अभियानमा साथ र सहभागितामा जोड समेत दिए । यसैगरी समितिका वर्तमान अध्यक्ष पदमबहादुर केसीले असल कामको लागि आफूहरु सदैव तयार रहेको बताए ।

गण्डकी अंचल यातायात व्यवसायी समितिका अध्यक्ष सिँहबहादुर कार्की र सचिव भानुभक्त ढकालले यो परियोजना संचालनसँगै सुरक्षा चाहने अन्य क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नुपर्ने बताए । गण्डकी क्रसर उद्योग व्यवसायी संघका सुरेन्द्र त्रिपाठीले सुरक्षा सबैको चासो भएको उल्लेख गर्दै यो कार्य छिटो थाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सुरक्षित पोखरा किन भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै यसको संचालन विधी, लागत, क्षेत्र तथा अपरिहार्यताबारे जानकारी दिए । उनका अनुसार यो परियोजना सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप संचालनमा आउनेछ । पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त पहलकदमी नै सुरक्षित पोखरा भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले सुरक्षित सहरको लागि आधुनिक सुरक्षा प्रणाली अपरिहार्य भएकोले यो अभियानमा साथ दिन सबैसँग आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिँहले काठमाण्डौंपछिको दोस्रो गन्तव्य पोखरालाई सुरक्षित बनाउन यो अवधारणा ल्याइएको प्रष्ट पारे । पोखरा लेगखनाथ क्षेत्रमा सुरक्षा संवेदनशील क्षेत्र पहिचान गरिएका क्षेत्रमा पहिलो र त्यसपछि क्रमशः यो अभियानलाई अन्यत्र पनि लैजाने उनले जानकार दिए । सिसी क्यामेरा जडानसँगै यसको संचालनको लागि उपभोक्ता समिति गठन गरिने उनले बताए ।

प्रविधीयुक्त अनुसन्धानमा प्रहरी प्रशासन फितलो भएको सन्दर्भमा सिसी क्यामेरा जडानले सहयोग पुग्ने छ, उनले भने । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष पवनकुमार प्रजापति, उपमहासचिव अर्जुन पोखरेल तथा कार्यसमिति सदस्य गोमा ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ