युआरएल पत्रकारिता पुरस्कार ऋषि खतिवडालाई, युआरएल पाँचौ वर्षमा

युआरएल पत्रकारिता पुरस्कार ऋषि खतिवडालाई, युआरएल पाँचौ वर्षमा

puraskar

गण्डक न्युज पोखरा, २४ मंसिर / विगत डेढ दशक देखि पोखरामा स्वास्थ्य क्षेत्रको बिटमा मात्र पत्रकारिता गरिरहेका पत्रकार ऋषि खतिवडा युआरएल पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित भएका छन् । पोखराको गिरी कम्प्लेक्स स्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा खतिवडालाई सो पुरस्कारबाट सम्मान गरेको हो ।

पुरस्कारको राशी १५ हजार नगद, ताम्रपत्र र दोसल्ला छ । शनिबार आयोजित समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्राडा बुद्धिबहादुर थापा, पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी, अस्पताल व्यवस्थापन विज्ञ डा. बच्चुकैलाश कैनी र युआरएलका अध्यक्ष सुशील थापाले खतिवडालाई सम्मान गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले युआरएलले कास्की र प्रदेश ४ का विभिन्न स्थानमा सेवासँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरका रेफरेन्स ल्याबहरु स्थापना भएसँगै उपचारमा सहजता आएको उल्लेख गरे । थापाले भने, ‘२०५४ सालतिर यस्ता ल्याब नहुँदा काठमाडौं नमूना पठाएर १ हप्ता पर्खिनुपथ्र्याे ।’उनले समय समयमा स्वास्थ्य परीक्षण गरी स्वस्थ रहन आग्रह गरे । उपकुलपति थापाले ४, ५ महिनामा प्रतिष्ठानले एमबिबिएस अध्यापन गर्न सुरु गर्ने जानकारी दिए ।

पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले विश्वकै प्रतिश्पर्धी र उत्कृष्ट सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गरी अगाडि बढ्नु अनुकरणीय भएको बताए । हस्पिटल व्यवस्थापन विज्ञ तथा युकेका लेबर पार्टीका नेता डा. बच्चुकैलाश कैनीले नेपालको स्वास्थ्य क्षेत्रका केही आशालाग्दा प्रयाससँगै विकृति, विसंगतिसमेत रहेको औंल्याए । उनले ती विसंगति अन्त्य गर्न सबैको एकीकृत प्रयास जरुरी भएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कृत व्यक्तित्व खतिवडालाई जुझारु, कर्मठ र इमान्दार पत्रकारको रुपमा चिनाए । अब जननिर्वाचित प्रतिनिधिहरुले जनताको आधारभूत अधिकार स्वास्थ्यलाई सहज, सरल र सुलभ बनाउन प्रयास गर्नुपर्ने उनको सुझाव छ ।

पुरस्कार योग्य प्रतिभा छनोट समिति संयोजक वद्रिविनोद प्रतिकले योगदान, निरन्तरता र पत्रकारितकको आदर्श अनुसार क्रियाशील खतिवडालाई समितिले सर्वसम्मत चयन गरेको बताए । पुरस्कृत व्यक्तित्व खतिवडाले पुरस्कारले अझै यो क्षेत्रमा क्रियाशील भएर योगदान गर्ने हौसला मिलेको बताए । उनले भने, ‘जनस्वास्थ्य पत्रकारितामार्फत् खासै बाहिर आएको छैन । यो क्षेत्रमा कलम चलाउने पत्रकारको खाँचो छ ।’

युआरएलका अध्यक्ष सुशील थापाले प्रदेश नं ४ लाई प्रयोगशालाको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रयासमा आफूहरु रहेको बताए । उनले भने, ‘हामी सेवाग्राहीका लागि आवश्यक र संवेदनशील अन्य रक्त परीक्षण पनि सहज, सुलभ र सरल तवरले यही उपलब्ध गराउन प्रतिवद्ध छौं ।’

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ४ वर्षको अवधिमा रक्तपरीक्षण गरी असामान्य देखिएमा सम्बन्धित विशेषज्ञकहाँ जाने प्रचलन बढ्दै गएको बताए । उनले भने, ‘यो क्षेत्रका सर्वसाधारणमा स्वास्थ्यबारे चेतना निकै उच्च छ ।’ चुस्त व्यवस्थापन, सर्वाेत्कृष्ट प्रविधि र रसायनबाट सेवासँगै सामाजिक उत्तरदायित्व युआरएलको पहिचान बन्दै गएको उल्लेख गरे ।

कार्यक्रममा शिक्षाविद् हेडम्बप्रसाद कोइराला, मधुमेही समाज कास्की अध्यक्ष कृष्णप्रसाद बरालले पनि शुभकामना दिएका थिए । युआरएलका अध्यक्ष सुशील थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युआरएलका ल्याब साइन्टिफिक अफिसर तथा सेयर सदस्य भूपेन्द्रराज पाण्डेय र सञ्चालन सञ्चारकर्मी अनिषा श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ