कास्कीको भाचोक दुर्घटनापछिका दुई प्रकरणः मृतकको गहना अस्पतालबाटै गायब, समिति पिकनिकमा ब्यस्त

कास्कीको भाचोक दुर्घटनापछिका दुई प्रकरणः मृतकको गहना अस्पतालबाटै गायब, समिति पिकनिकमा ब्यस्त

cover

गण्डक न्युज पोखरा, १० पुस । पुस ७ गते शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा बस दुर्घटना भयो । दुर्घटनामा निर्वाचित जनप्रतिनिधी पदमकुमारी नेपालीको मृत्यु भयो भने बसमा सवार सबै घाईते भए ।

दुर्घटनापछि दुई प्रकरणले पोखरा तात्यो । एक दुर्घटना भएपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पदाधिकारीहरु पिकनिकमै रमाउँदा पीडित कुरेर बस्नुपरेको अवस्था । दुई, मृतक नेपालीको सिक्री नै अस्पतालबाट गायब ।

दुःखद घटनामा यस्तो मानवीय संवेदनाहीन कुराले थप पीडा भएको छ । दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्र्टमार्टमका लागि ल्याएकोमा नेपालीको घाँटीमा भएको सुनको सिक्रीको लकेट शवकक्षमा काम गर्ने कर्मचारीले लुकाएको आरोप लागेको थियो । तस्विरमा प्रस्ट देखिएको तर त्यहाँ नभएको पाईएपछि अस्पताल प्रशासनलाई उजुरी दिएको शिवहरी अधिकारीले खुलासा गरेका छन् ।

यसअघि पीडित पक्षले समितिको पदाधिकारीले घटनामा गम्भिर नबनेपछि दुःख पाएको गुनासो गरेका थिए । हामीले डिएनएनेपाल डटकमबाट न्युज लिएका छौं ।

दुर्घटनाका घाईते छोडेर पिकनिकमा

सामान्यतः आफ्नो समितिको बस दुर्घटना हुँदा समितिका पदाधिकारी वा जिम्मेवार ब्यक्ति पीडित पक्षसँग बसेर थप उपचारको बाटो खोलिदिनुपर्छ । यसको मतलव गाडी दुर्घटनामा घाईतेको उपचार जिम्मा बस समितिको हो, यदी उक्त बस कुनै समितिमा आवद्ध छ भने ।

स्तरीय सेवा दिने भन्दै पृथ्वीले देशैभरी हौवा पिटेको छ । हरेक जिल्लामा स्थानीय समिति छ, तर पृथ्वीले ति सडकहरुमा पनि सिण्डिकेट लाद्न नपाईने भन्दै आफ्नो समितिको गाडी चलाईरहेको छ । तर आफ्नो विपक्षमा कसैले गाडी चलाउन थाल्यो भने संस्थागत रुपमै विरोध जनाउन भ्याउँछ । यात्रुले पत्याउने ठाउँ पनि छ, पृथ्वीको सेवा अरु भन्दा राम्रो छ । पछिल्लो समय पृथ्वी समितिको बसहरु स्तरीय छन् पनि । तर समितिले दुर्घटनापछि पीडितको वेवास्ता गर्ने र घटनाप्रति गैरजिम्मेवार हुने परम्परा छ ।

शुक्रबार भएको दुर्घटनाबारे समितिले कुनैपनि सक्रियता देखाएन । पीडितहरु अस्पतालको आडमा बसेका छन् तर समितिको स्विकृति नभएकै कारण घाईतेले राम्रोसँग उपचार पाएका छैनन् । शुक्रबार घटना घटेपछि समस्या समाधामतिर लाग्नुपर्नेमा समिति हुल बाँधेर शनिबार दिनभरी धम्पुसमा पिकनिक खाएर बस्यो ।

‘समितिबाट नेक्लिजेन्स भएको स्विकार्छु । हामीले दुर्घटना संयोजक धर्म अर्याललाई बार्ताका लागि पठाएका थियौं, पीडित पक्षसँग कुरा गर्दै समितिका महासचिव योगेन्द्र केसीले भने–अर्याल जीले टुंग्याउनुभयो होला भन्ने बुझेर हामी ढुक्कसँग बस्यौं । अव समितिको बैठक बसेर कसरी जाने निर्णय गर्छौं ।’ समितिले खटाएको भनिएको दुर्घटना संयोजक अर्यालको फोन शनिवार दिनैभरी स्विच अफ थियो ।

‘शुक्रबार दुर्घटना भएपछि शनिवारको कार्यक्रम रोक्नुपथ्र्यो । त्यो भएन कमसेकम १÷२ जना जिम्मेवार मान्छे त पठाउन सकिन्थ्यो, पीडित पक्षबाट गठित बार्ता समितिका संयोजक बृजमान गुरुङले भने– समितिका अध्यक्षजी (एन कुमार साइ) ले उल्टै जानेको गर भनेर फोन राख्नुभयो । यो समितिको जानाजान गरिएको गैर जिम्मेवारपन हो । यस्ता घटनाले सम्बन्ध राम्रो बनाउँदैन ।’

घटनापछि खसीबजार चोकमा ४ वटा बस तोडफोड भए । बस पीडित पक्षले नै तोडफोड गरेको बसधनीहरुले बताएका छन् ।

भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो)

शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो ।

दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि कञ्जुस्याईँ नगर्ने र आवश्यक उपचारको ब्यवस्था पृथ्वी समितिले मिलाउने, मृतकलाई तत्काल नियमानुसार पाउने ५ लाख रुपैयाँ उपलब्ध गराउने, मृतकको स्मृतिमा समितिले अर्धकदको शालिकसहित प्रतिक्षालय निर्माण गरिदिने र त्यसका लागि जग्गा र प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराउने, परिवारको कुनै १ सदस्यलाई योग्यताअनुसारको रोजगारी दिने लगाएतका सहमति भएको छ । सहमति पछि आईतबारदेखि नै त्यस रुटमा बस सञ्चालन खुला भएको छ ।

सहमतिपत्रमा पृथ्वी बस ब्यवसायी समितिको तर्फबाट उपाध्यक्ष तथा दुर्घटना संयोजक धर्मराज अर्याल, पीडित पक्षबाट मादी गाउँपालिका उपाध्यक्ष विष्णु पौडेल, मादी ८ का वडाध्यक्ष यामबहादुर गुरुङ, मादी ९ का वडाध्यक्ष तोरणबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बृजमान गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य ओमप्रकाश गुरुङ र मृतकका भाईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ