न लाठीचार्ज, न प्रतिवाद : कास्की प्रहरीले यसरी खुलायो बाटो, (हेर्नुहोस् फोटो/भिडियो)

न लाठीचार्ज, न प्रतिवाद : कास्की प्रहरीले यसरी खुलायो बाटो, (हेर्नुहोस् फोटो/भिडियो)

TAXI (7)

पोखरा, २६ पुस – पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक क्षेत्रमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु एम्बुलेन्सलाई समेत अघि बढ्न दिईरहेका थिएनन् ।

एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए । सयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री ट्याक्सी चालकहरुलाई आ–आफ्नो ट्याक्सी हटाएर बाटो खोल्न अनुरोध गरिरहेका थिए । तर उनको अनुरोधलाई कसैले सुनेको थिएन ।

बाटो खुलाउन नमान्ने ट्याक्सी चालकहरुलाई लाठीचार्ज गराएरै भएपनि प्रहरीले बाटो खुलाउने अनुमान सबैले गरिरहेका थिए । सर्वसाधारण कास्की प्रहरीको निरीहताको कटु रुपमा आलोचना गरिरहेका थिए । यस्तो आलोचना सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको थियो ।

करीब साढे १२ बजेतिर कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह भीडमा पुगे । त्यतिबेलासम्म चोकमा संयौंको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु तैनाथ भैसकेका थिए । उनीहरु आवश्यक परे भीड नियन्त्रण गर्न लाठी चार्ज गर्न तमतयार भएर बसेका थिए ।

त्यही तनावका बीचमा भीड छिचोल्दै पृथ्वीचोकमा पुगेका कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफ्ना प्रहरी जवानहरुलाई बाटोमा तेस्र्याइएका ट्याक्सीहरुलाई तत्काल उचालेर भएपनि बाटो खुलाउन निर्देशन दिए ।

उनको निर्देशनसँगै प्रहरी जवानहरुमध्ये कोहीले भटाभट बाटो छेकेर राखेका ट्याक्सीहरुलाई धकेल्न थाले, कोहीले तान्न थाले । प्रहरीले ट्याक्सी हटाउन थालेपछि आक्रोशित ट्याक्सी चालकहरुले प्रतिवाद गर्ने र झडप हुनसक्ने आशंका उपस्थित सबैले गरेका थिए । तर कोही कसैले प्रतिवाद गरेनन् । केही बेर अघिसम्म चर्को आवाजमा प्रहरी प्रशासनको विरोध गर्नेहरु सबै पाखा लागेर बसे ।

प्रहरीले बाटो छेकेर राखिएका केही ट्याक्सीहरुलाई तानेर या धकेलेर बाटो खुलाए । न त्यहाँ लाठी चार्ज भयो, न प्रतिवाद । यसरी झडप हुने आशंकाबीच कास्की प्रहरीले ट्याक्सी चालकहरुलाई हटाएर सवारी साधनहरु बाटो खुलायो ।

मंगलबार मिटरमा चल्न नमानेको आरोपमा हिरासतमा राखिएका १८ जना ट्याक्सी चालकहरुलाई कास्की प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि गण्डकी अञ्चल यातायात कार्यालय पोखरामा पठाएकोमा ५ हजार जरिवाना तिराएर बुधबार छाडिएको छ ।  ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । बुधबार १६ जना समातिएकोमा हिरासतमै छन् ।

उपभोक्ताहरुलाई मनपरी भाडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएकोमा आवश्यक कानूनी कारवाहीका लागि यातायात कार्यालय पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

ट्राफिक प्रहरी नायव निरिक्षक शिव थापाले अनियमित किसिमले भाडा लिने वा मिटरमा जान नमान्नेलाई कारबाही थालिएको बताए । उनले जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच सुरु गरेको जानकारी दिए ।

यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समितिले समेत ट्याक्सी चालकलाई धरपकड गरी थुनामा राखेको भन्दै यसको विरोधमा विहीबार आफू मातहतका सबै सवारी साधन नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र बहादुर केसीले जनाएका छन् ।

अध्यक्ष ऐनकुमार साईले वार्ता र संवादबाट समस्याको समाधान निकाल्नुपर्नेमा बलमिच्याईं ढंगले प्रहरी अघि बढेको दाबी गरे । यद्यपी उनले चक्का जामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारी मात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारे ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारी पनि काठमाण्डौमा लागू भयो भन्दैमा पोखरा जस्ता ठाउँमा मिटरमा चल्न नसक्ने दाबी गर्छन् । ‘प्रहरी र प्रशासनको दादागिरी हो यो धरपकड । म उनीहरुलाई नै भन्न चाहन्छु, राजधानीका सिडिओ, एसपीको तलब र दुर्गमका सिडिओ, एसपीको तलब एउटै हुन्छ ? दुर्गममा रहनेलाई किन भत्ता दिईन्छ ? पोखराका सडक पनि काठमाण्डु जस्तो छ र ? यात्रु त्यस्तै छ ?’

जनसञ्चार डटकमका ओम हमालको सहयोगमा ।
तस्विरः सुदर्शन रञ्जित, शिव दाइ, ओम हमाल, सुदिपराज ढुंगाना ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ