२५ वर्षदेखि पोखरामा पढाउँदै भारतीय गुरु भोला सिंह

२५ वर्षदेखि पोखरामा पढाउँदै भारतीय गुरु भोला सिंह

bhola-shing-thakaur

झट्ट सुन्दा अचम्म पनि लाग्न सक्छ, भारतको ठकुरापार पोष्ट, बढया चौक गोरखपुरका भोला सिंह ठाकुरले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय मा।वि।मा पढाउन थालेको २४ वर्ष पूरा भई २५ वर्ष लागिसकेको छ ।

भर्खर जवान बन्दै गरेका अवस्थामा ठाकुरलाई विद्यालयका शिक्षक कमलप्रसाद आचार्य र शशिधर भण्डारीले २०४० सालमा गोरखपुर नै पुगेर ल्याए । उक्त समयमा ठाकुरले गोरखपुरमा आइएससी उत्तिर्ण गरे पछि ब्याचलर ट्रेनिङ सेन्टरबाट दुई वर्षे विटिसी तालिम लिर्इसकेका थिए ।

विद्यालयमा गणित तथा विज्ञान विषयको शिक्षक आवश्यकता भए पछि ल्याइनुभएका ठाकुरले २०४० साल फागुन २८ गतेदेखि हालसम्म निरन्तर अध्यापन गर्दै आएका छन् । “यो विद्यालयमा पढाउन आउनु अघि म नौतुना यता आएको थिइन,” ठाकुरले भने, “ विद्यालयमा पढाउन थाले पछि भने मेरो जीवनको महत्वपूर्ण समय यतै व्यतित भयो ।”

भारतदेखि आएर यस क्षेत्रका विद्यार्थीको शैक्षिक प्रगतिमा ठाकुरले पु¥याएको योगदान स¥हानीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्साल बताउँछन् ।

ठाकुरले आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शैक्षिक विकासमा खर्चेको उनले बताए । विद्यार्थीहरूको सफलतालाई नै आफ्नो सफलता ठान्ने ठाकुर यस विद्यालयमा आएसँगै यस क्षेत्रका विद्यार्थीको गणित तथा विज्ञान विषयमा ठूलो परिवर्तन आएको अभिभावकहरू बताउँछन् । विदेशबाट आएर पनि आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शिक्षाका लागि विताएका ठाकुरको योगदान अमूल्य रहेको अभिभावक गुरुप्रसाद पौडेल बताउँछन् ।

“विदेशबाट आएर यस किसिमको योगदान गर्ने व्यक्ति विरलै हुन्छन्,” शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष समेत रहेका पौडेलले भने, “यहाँको समाजमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।” विद्यालयमा सुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उनलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो । दरबन्दी परिवर्तन लगायतका कारणबाट हालसम्म अस्थायी सेवामा नै रहेको र उमेर हदका कारण आगामी २०७५ वैशाख २८ गते आँफूले अबकास पाउन लागेको ठाकुरले बताए ।

विद्यालयमा पठाउन सुरु गरेदेखि ठाकुर हालसम्म स्थानीय होमनाथ आचार्यको घरमा डेरा गरी बस्दै आएका छन् । व्यवहारमा अत्यन्त सरल र स्वाभिमानी ठाकुर सरसँग विद्यालय समयका अतिरिक्त पढ्नका लागि विहान ३ बजेदेखि नै विद्यार्थी आउँने गरेको घरभेटी ८२ वर्षीय आचार्य बताउँछन् ।

श्रीमती चन्द्रवती सिंह र पाँच छोरीका अभिभावक ठाकुरले यस क्षेत्रको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको सम्मान गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू तोयनाथ आचार्य, पितृराज आचार्य र लेखनाथ आचार्यले विद्यालयको वार्षिकोत्सवको अवसरमा गत वर्ष ५० हजार रुपैयाँ नगद सहित सम्मान गरेका थिए । पूर्व विद्यार्थीहरू ठाकुरलाई एउटा आदर्श शिक्षकका रुपमा लिने गरेका छन् ।

पूर्व विद्यार्थी एवम् लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा लेखनाथ २७ रिठ्ठेपानीका प्राचार्य विष्णुहरि पौडेल विदेशबाट आएर पनि यहाँको शैक्षिक विकासमा ठाकुरले गर्नुभएको योगदान अतुलनीय भएको बताउँछन् ।  “भोला सरको प्रेरणा एवम् मार्गदर्शनबाट यस क्षेत्रका धेरै विद्यार्थी अभिप्रेरित छन्,” सञ्चारकर्मी समेत रहेका पौडेलले भने, “उहाँको मार्गदर्शनका जगमा प्रशासन, राजनीति, आमसञ्चार एवम् समाजका हरेक तह तप्कामा यहाँका पूर्व विद्यार्थी पुगेका छन् ।”

वासुदेव पौडेल/रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ