डेढ सयको टिकट काटेर १ लाख ६५ हजारको स्कुटर चढेर फर्किए उज्ज्वल

डेढ सयको टिकट काटेर १ लाख ६५ हजारको स्कुटर चढेर फर्किए उज्ज्वल

Ujjwal (1)

गण्डक न्युज पोखरा, २० माघ / पोखरा रंगशालामा ११ दिनसम्म पुगेर खेल हेर्ने हजारौं दर्शक मध्ये कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक ३ भलाबोटका उज्ज्वल पोखरेल सबैभन्दा भाग्यमानी दर्शक बने ।

डेढ सयको टिकट काटेर नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीचको फाइनल खेल हेर्न पुगेका उनले १ घण्टा बित्न नपाउँदै आफूले जितेको खुशीको खबर रंगशालामै सुने । प्रतियोगिता आयोजक सहारा क्लबले प्रतियोगिता अवधिभर खेल हेर्ने मध्येबाट काटिएका टिकटमध्ये गोलाप्रथाबाट ६३०५४ नम्बरको टिकटलाई स्कुटर विजेता घोषणा गर्दा सो नम्बरको टिकट उनकै हातमा थियो ।

डेढ सयको टिकटले खेलमा पहिलो हाफभर मनोरञ्जन त लिए नै । त्यसपछि स्कुटर उनको नाममा परेपछि हर्षको सीमा रहेन । उनले गण्डक न्युजसँग भने – ‘मैले अस्ति पुलिसको खेल हेरेको थिएँ । एकदम राम्रो लाग्यो । पुलिसको फाइनल खेल छुटाउन मन थिएन । हिजो मात्रै पोखराबाट घर गएको थिएँ । हतारमा आएर एक्लै टिकट काटेर छिरेँ । साथीहरु पहिल्यै रंगशाला छिरिसकेका रहेछन् । मलाई पर्दा त एकदम खुशी लाग्यो ।’

प्रमुख अतिथि राखेपका सदस्य सचिव केशवकुमार बिस्टको हातबाट लक्की ड्र गरिएको थियो । पोखरेल जागिर छाडेर अहिले विदेश जाने तयारीमा छन् । डेढ सयको टिकट काटी फुटबलको मज्जा लिएर उनी घर फर्कदाँ स्कुटर चढेर फर्किए ।

अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको एलइडी कलर टिभी प्राप्त गरे । उनको टिकट ६९२५३ लाई टिभी परेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds