प्रदेश ४ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय, मन्त्रीको पर्खाइ

प्रदेश ४ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय, मन्त्रीको पर्खाइ

Mukhyamantri niwas

पोखरा, २१ माघ। अरु प्रदेशमा प्रदेशसभा बैठकको चटारो सकिएको छैन । तर, प्रदेश चारमा भने पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ ।

प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो । हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजा तथा टिका ग्रहण गरेर मन्त्रालय सञ्चालनमा ल्याइएको हो ।

प्रदेशका प्रमुख सचिव तोकिएका क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले बिहीबार नै पद बहाली गरे । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन तथा अन्य तयारी गर्नेछन् । मुख्यमन्त्री कार्यालयको सचिव लालमणि ओझाले पनि पदबहाली गरेका छन् । दुई वटा मन्त्रालय बिहीबारदेखि नै खुलेको र केही दिनमै आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउने प्रमुख सचिव अर्यालले जानकारी दिए ।

‘मन्त्रालय सञ्चालनमा आए पनि मुख्यमन्त्री तथा मन्त्रीहरु निर्वाचित नभएकाले प्रदेश सभा बैठक तथा मन्त्रालय सञ्चालन तयारीमा हामी जुट्ने छौं,’ प्रमुख सचिव अर्यालले भने ।

सीप विकासको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय गरी तीन मन्त्रालय रहने छ । बिहीबारै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि पदबहाली गरेका छन् ।

यो मन्त्रालयका लागि केन्द्र सरकारले २९ जना कर्मचारी खटाएको छ तर सबै कर्मचारी आइसकेका छैनन् । ‘अन्य कर्मचारी आएसँगै तीव्र रुपमा काम सुरु हुनेछ,’ सचिव पोखरेलले भने, ‘यो मन्त्रालयले मात्रै ४१ वटा कानुन निर्माण गर्नुपर्नेछ ।’

प्रदेशका संरचना सञ्चालन र कार्यान्वयनका लागि चाँडो कानुन निर्माण गर्नुपर्ने अवस्था गरेको पोखरेलले बताए । सहकारी डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तय भएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयमा सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय नजिकै निर्माणधीन क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग पर्यटन, वन वातावरण मन्त्रालय राख्ने गरी तयारी भइरहेको छ । प्रदेश प्रमुखको नेतृत्वमा यी मन्त्रालय रहने भवनको निरीक्षण तथा मन्त्री आउनसाथ पदभार सम्हाल्ने पाउने गरी तयारी भइरहेको छ ।

मुख्यमन्त्रीको कार्यालयमा २१ जना, आन्तरिक मामिलामा २३ जना, आर्थिक, योजनामा १८ जना, भौतिक पूर्वाधारमा २४ जना, भूमि, कृषि तथा सहकारीमा २९ जना, उद्योग, पर्यटनमा २९ जना, सामाजिक विकासमा ३० जना कर्मचारी सरकारले खटाएको छ ।

तत्काल मन्त्रालय सञ्चालनका लागि कर्मचारी खटाइएको र तयारी तीव्र पारिएको प्रमुख सचिव लक्ष्मण अर्यालले बताए ।

अमृत सुवेदी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ