एमाले प्रदेश ४ मा संसदीय दलको निर्वाचन माघ २८ गते, संस्थापन पक्षकै प्रतिस्पर्धा, कसको पल्ला भारी ?

एमाले प्रदेश ४ मा संसदीय दलको निर्वाचन माघ २८ गते, संस्थापन पक्षकै प्रतिस्पर्धा, कसको पल्ला भारी ?

काठमाडौं, २६ माघ । प्रदेश ४ मा एमाले संसदीय दलको निर्वाचन माघ २८ गते हुने भएको छ ।  मुख्यमन्त्रीका लागि पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङको प्रतिस्पर्धा छ ।

गुटका हिसाबले पार्टीभित्र दुवै संस्थापन पक्षका हुन् । किरण नवौं महाधिवेशनमा ओलीको उपाध्यक्ष उम्मेदवार बनेका थिए भने पृथ्वीसुब्बा सचिव उम्मेदवार बनेर जितेका हुन् ।

दुई गुरुङमध्ये एक छान्न ओलीलाई सकस परेको छ । उनले गत साता दुवैसँग अलग-अलग छलफल पनि गरेका थिए । किरणलाई मुख्यमन्त्री बनाउन ओलीमाथि उपाध्यक्ष बामदेव गौतमको पनि दबाव छ । प्रदेश ४ मा ६० सिटमध्ये एमालेका २७ सांसद छन् । त्यसमा माधव नेपाल पक्षका दुईजनामात्र छन् ।

मुख्यमन्त्री बन्ने दौडमा एमालेबाट पार्टी प्रदेश ४ का संयोजक किरण गुरुङ र केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ खुलेरै लागेका छन् । किरण तनहुँ क्षेत्र नं. २ (ख) बाट र पृथ्वी लमजुङ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । किरण पहिलो संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. ३ बाट निर्वाचित भएर वनमन्त्रीसमेत भइसकेका छन् भने पृथ्वी पहिलो संविधानसभा निर्वाचनमा लम्जुङबाट विजयी भई पर्यटन मन्त्री भएका नेता हुन् ।

दुवै नेताले केन्द्रीयस्तरमा राजनीति गरे पनि उनीहरू मुख्यमन्त्री हुने उद्देश्यसहित यसपटक प्रदेशसभा निर्वाचनमा होमिए । प्रदेश ४ को प्रदेशसभामा ३६ जना निर्वाचित र २४ जना समानुपातिक गरी ६० जना सदस्य हुन्छन् । प्रदेशभित्र बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता बनेपछि मुख्यमन्त्रीको दाबेदार बन्न पाइन्छ । किरण र पृथ्वीलाई मुख्य मन्त्री बनाउने दौडमा अहिले सम्बन्धित जिल्लाका नेता लबिङमा छन् ।

दुवै नेता केन्द्रीय राजनीति छाडेर प्रदेशमा झर्नुको उद्देश्य मुख्यमन्त्री बन्नु रहेको बताउँछन् । पृथ्वी पार्टीको पद्धति मान्नुपर्ने बताउँछन् । ‘पार्टी केन्द्रीय सचिवको हैसियतमा रहेको व्यक्ति आएर प्रदेशसभा सदस्यमा चुनाव लड्नुको पछाडिको कारण स्पष्ट रुपमा बुझ्नुपर्छ,’ उनले भने, ‘यो प्रदेशमा पार्टीको सबैभन्दा सिनियर पदाधिकारी मै हुँ । त्यसैले मलाई मुख्यमन्त्री बनाउने सवालमा कसैको असहमति रहन्छ भन्ने लाग्दैन ।’

पार्टी ‘हाइकमान्ड’ मा समेत आफूलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने सवालमा कहींकतै विवाद नरहने उनले दाबी गरे । ‘प्रदेशसभामा संसदीय दलको नेता चुनिनुपर्छ । त्यसमा पनि मलाई बहुसंख्यक सांसदको समर्थन जुट्नेमा विश्वस्त छु,’ उनले भने, ‘मलाई यो प्रदेशका जिल्ला इन्चार्ज, जिल्ला कमिटीका अध्यक्षको पनि उत्तिकै समर्थन छ ।’

यही क्षेत्रका स्थानीय तहमा निर्वाचित गाउँ तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा यहाँका बहुसंख्यक बुद्धिजीवी सर्कल, उद्योगी, व्यवसायीलगायत सर्वसाधारण मतदाताको समेत आफूलाई मुख्यमन्त्री बनाउने अपेक्षा रहेको उनले दाबी गरे । ‘मलाई मुख्यमन्त्री बनाउन धेरैतिरको चाहना छ । त्यसैले सहयोग पनि पाउने आशा छ,’ उनले भने ।

किरण पनि प्रदेश संयोजकको जिम्मा लिएर काम गरेको आधारमा आफूले मुख्यमन्त्री पाउने दाबी गर्छन् । ‘अहिलेसम्म प्रदेश संयोजन गरेको हिसाबले पनि मेरो दाबी मुख्यमन्त्रीमा हो,’ उनले भने, ‘त्यही जिम्मा (मुख्यमन्त्री) लिनकै लागि पनि म केन्द्रबाट प्रदेशमा झरेको हुँ । मुख्यमन्त्रीको चाहना हुँदैनथ्यो भने प्रतिनिधिसभामा पनि निर्वाचनमा उठ्न सक्थें ।’ सबैतिरको निर्वाचन परिणाम आएर मुख्यमन्त्री चयन प्रक्रिया चलेपछि बल्ल कसरी अघि बढ्ने भन्ने थाहा हुने उनले बताए । मुख्यमन्त्री बन्नका लागि पृथ्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी किरणको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ