रञ्जन अधिकारी पोखरा, २६ माघ / पोखराको सभागृह परिसरमा शुक्रबारदेखि जुत्ता चप्पल व्यापार मेला हुने भनिएको थियो । तर स्थानीय जुत्ता व्यवसायीको अवरोधका कारण रोकियो । एक महिनासम्म सञ्चालनको तयारी गरिएको मेला अब एक हप्ता मात्रका लागि शनिबारदेखि सुरु हुँदैछ । मेला आयोजक र स्थानीय व्यवसायीबीच भने कुरा मिलेको छैन । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आयोजकलाई एक हप्तामात्रै अनुमति दिएको हो ।
गत पुस ९ गते नै सीताराम चालिसेले माघ २५ देखि फागुन २२ गतेसम्म सभागृहमा मेला सञ्चालन गर्न महानगरमा निवेदन दिएका थिए । महानगरपालिकामा यो विभाग हेर्ने कर अधिकृत शिवहरि शर्माले माघ १८ गते सभागृहको चौर प्रयोग गर्न एक महिनाको अनुमति दिए । ठाउँ मिलेपछि मेला आयोजक नेपाली जुत्ता घर प्रालि गत वर्ष २० दिन मेला गरेझैं यसपटक पनि एक महिना गर्ने गरी पोखरा आए ।
मेला गर्ने मितिको अघिल्लो दिन पोखरा सभागृहमा जुत्ता झारेर ठाउँको तयारी गर्ने क्रममा फेरि तनाव उत्पन्न भयो । कर अधिकृत शर्माले नै माघ २६ देखि फागुन २ गतेसम्मका लागि मन्त्रः च्यान्टिङ अफ टेक्नलोजी’ कार्यक्रमका लागि अर्को समूहलाई पोखरा सभागृह प्रयोग गर्न अनुमति दिएका थिए । यसका आयोजक इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालले स्थान नपुग्ने भन्दै आपत्ति जनायो । यद्यपी, असर नपुग्ने गरी कार्यक्रम गर्न समस्या भएन ।
उद्योगी समूहलाई आफ्नै जुत्ताको व्यवसाय गर्ने स्थानीय व्यवसायीले अवरोध गरे । खुल्ला चौरमा महिना दिनसम्म व्यापार गरेर पोखराको व्यापार चौपट पार्न आएको व्यवसायीको आरोप छ ।। गत वर्ष भारी छुट दिएको तर गुणस्तरीय सामान नरहेको भनेर आलोचित भएको बेला स्थानीय व्यवसायीलाई यही कमजोरी मसला बन्यो । आयोजक उद्योगी पक्ष सामान झारिसकेको र महानगरको अनुमति पनि लिईसकेकाले जसरी पनि गर्ने अडानमा रहे भने स्थानीय व्यवसायीले कुनै हालतमा पनि गर्न नदिने अड्डी कसेपछि विहीबार बेलुकी नै महानगरपालिकामा उनीहरु पुगे ।
छलफलकै क्रममा महानगर प्रमुख मानबहादुर जिसीले कर अधिकृत शिवहरि शर्मालाई ‘कसको अनुमतिमा एक महिनाका लागि मेला महोत्सव गर्न सभागृह दिएको ?’ भनेर हप्की दिएको प्रत्यक्षदर्शीले बताए । शर्माले त्यो क्षेत्र आफूले नै हेरिरहेको जवाफ दिएपछि जिसीले ‘सभागृहको प्रयोग कार्यक्रम, सभासमारोहका लागि हो, मेला महोत्सवका लागि एक महिनासम्म होईन । तपाईंले दिनुभएको तपाईंले नै गर्नुस्’ भनेर आक्रोश पोख्दा त्यहाँ रहेका सबै जिल्ल परे ।
ठाउँकै विषयमा एक पछि अर्को समस्या आईपरेपछि शर्मासामु प्रमुख जिसी यसरी प्रस्तुत भएका थिए । प्रमुखको ठाडो आदेशपछि कर अधिकृत शर्मा शुक्रबार तनावमा रहे । चलानी नम्बर उल्लेख, जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई बोधार्थ बनाएर कार्यक्रम स्थगित पत्र समेत उनले तीन पटक लेख्नुपरेको थियो ।
स्थानीय व्यवसायी स्थगित गर्ने पत्र लिएर हाँस्दै निस्कन नपाउँदै महानगरपालिकामा आयोजक उद्योगी पक्ष पुग्यो । छलफलपछि एक हप्ताका लागि तत् स्थानमै कार्यक्रम गर्न स्वीकृत प्रदान ग¥यो । यस निर्णयबाट फेरि स्थानीय व्यवसायी रुष्ट बनेका छन् । शनिबार कार्यालय नखुल्ने भएकाले आइतबार पुनः महानगरलाई ध्यानाकर्षण गराउने र मेला स्थगित नभए सभागृह गेटमै तालाबन्दी गर्ने कास्की जुत्ता व्यवसायी संघका महासचिव मोहनराज पौडेलले बताए ।
यता, महानगरले एक महिनासम्म अनुमति दिएर पछि नदिने भनेपछि काठमाण्डौबाट आएका उद्योगीहरु चिन्तित थिए । महानगर प्रमुख जिसीले स्थानीय व्यवसायी र आयोजक पक्ष दुवैलाई मर्का नपर्ने गरी निर्णय भएको बताए । ‘एक त एक महिनाका लागि सभागृह एकै समूहले लगातार प्रयोग गर्ने ठाउँ नै होईन । सभागृह सभा समारोह कार्यक्रम गर्ने ठाउँ हो । शैक्षिक मेला भए त हो, व्यापार मेला महोत्सव गर्ने ठाउँ होईन । मलाई थाहा नदिई दिने काम भयो ।’ जिसीले भने– ‘तर यहाँबाट गल्ती भईसकेपछि त्यो जिम्मा महानगरले नै लिने हो, लिन्छ । खुल्ला बजारमा आफ्नो मर्यादामा रहेर सबैले व्यापार गर्न पाउँछ । त्यसैले एक हप्ताको लागि मात्र स्विकृती दियौं ।’
उनले आदर्श समाज दैनिकमा शुक्रबार प्रकाशित ‘नबिकेका जुत्ता पोखरामा ⁄’ शीर्षकको उपभोक्तामुखी समाचारमा ध्यानाकर्षण भएको जनाउँदै नबिकेका, बिग्रेका सामान लिएर ठगी गर्ने मनसायबाट आउनेहरुलाई भने महानगरले कुनै छुट नदिने बताए । उपभोक्ता मञ्च लगायत सबै सरोकारवालाको चासो यसतर्फ हुन जरुरी रहेको जिसीले बताए ।
एक हप्ताको समय पाएपछि शनिबारबाटै मेला सुरु गर्ने तयारी आयोजक पक्षले गरेको छ । नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले यसपटक पूराना सामान कुनै नरहेको जिकिर गरेका छन् । पहिले आलोचित बनेपनि यसपटक राम्रा सामान बेचेर सबै उपभोक्ताको चित्त बुझ्ने मौकाका रुपमा आयोजकले लिएका छन् । प्रकाशित समाचारले सुध्रने मौका दिएको र अब पोखरेलीमाझ राम्रो छाप छाडेर जाने आयोजकको मनशाय छ ।
तर, अझै पनि स्थानीय व्यवसायीले मेला सञ्चालन नै हुन नदिने अडान कसेका छन् । शनिबार पत्रकार सम्मेलन गर्ने तयारी उनीहरुको छ । कमसल सामान सस्तो मूल्यमा बेचेर प्रवद्र्धनको नाममा आफ्नै कम्पनीलाई घाटा पु¥याउने गरी व्यवसायी मारमा पार्न उद्योगी नै पोखरा आएको उनीहरुको बुझाई छ । वडा प्रहरी कार्यालय बैदामबाट प्रमुख बसन्त शर्माको नेतृत्वको टोलीले दिनभर मेला स्थलमा सुरक्षा प्रदान गरेको थियो ।

सम्बन्धित खबर
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
सहारा युकेका संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण
स्ववियू चुनाव: पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय