प्रदेश ४ सभामुख बन्ने भए पर्वतका नेत्र अधिकारी, एमालेले मुख्यमन्त्री टुंगाउने आज

प्रदेश ४ सभामुख बन्ने भए पर्वतका नेत्र अधिकारी, एमालेले मुख्यमन्त्री टुंगाउने आज

Netra

पोखरा, २७ माघ / पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्र अधिकारी प्रदेश नं ४ को सभामुख बन्ने पक्का भएको छ ।नेकपा माओबादी केन्द्रले पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्र अधिकारीलाई प्रदेश सभामा सभामुख बनाउने निर्णय गरेको हो ।

अधिकारी प्रदेश नं ४ मा माओबा दी केन्द्रबाट सबैभन्दा महत्वपुर्ण जिम्बेवारी पाउने नेता भएका छन । अधिकारी पर्वत प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन्। साथै माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य पनि हन्।

एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा चार नम्बर प्रदेशमा मुख्यमन्त्रीमा एमाले र सभामुख माओवादीले लिने यसअघि नै सहमति भएको थियो। सोही सहमतिअनुसार माओवादी केन्द्रले शनिबार सभामुख सिफारिस गरेको हो। चार नम्बर प्रदेशमा फागुन ३ गते सभामुखको निर्वाचन तोकिएको छ।

माओवादी केन्द्रको चार नम्बर प्रदेशको संसदीय दलको नेतामा तनहुँका हरिबहादुर चुमान चुनिए । चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा खबाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनी माओवादीको केन्द्रीय सचिवालय सदस्य हुन्।

यसैगरी संसदीय दलको उपनेतामा कास्कीका रामजीप्रसाद बराल, प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा बागलुङबाट निर्वाचित चन्द्रबहादुर बुढा पनि चयन भएका छन्। सबै पदाधिकारी निर्विरोध चयन भए। ‘सबै कुरा सहमतिमै टुंगाइयो’ चुमानले भने। ५९ प्रदेशसभाका सदस्य रहेको चार नम्बर प्रदेशमा माओवादी केन्द्रका १२ जना छन्।

मुख्यमन्त्रीको टुंगो आइतबार

यता एमालेले भने मुख्यमन्त्रीको टुंगो लगाउन आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ । आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ ।
एमाले दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङको दाबी छ ।

दलको नेता छान्न निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ ।

निर्वाचन आयोगका अध्यक्ष प्यासीले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्ने जानकारी दिए । ‘पहिलो चरणमा सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने कोसिस गरिने छ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ ।’

एमालेले संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा एमालेको २७ सदस्य छन् । एमालेले प्रदेश नम्बर ५ मा वाहेक प्रदेश नम्बर १ र ३ मा आन्तरिक चुनाव गरेर संसदीय दलको नेता चुनेको छ ।

वाम गठबन्धनमा प्रदेश ४ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ