कास्कीको मादीमा श्रीमती मारेपछि बिकले भने- ‘मार्छु भनेर हानेको हैन, मरिहाल्यो’

कास्कीको मादीमा श्रीमती मारेपछि बिकले भने- ‘मार्छु भनेर हानेको हैन, मरिहाल्यो’

Hatya

रञ्जन अधिकारी पोखरा, १ फागुन / कास्कीको मादी गाउँपालिका वडा नं. ५ बयरघारी बस्ने एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिर्पटले टाउकोमा हानेर हत्या गरेका छन् ।

सोमबार राती विकले श्रीमतीलाई चिरपाटे दाउराले टाउकोमा प्रहार गरेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय, हंसपुर डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।

श्रीमान-श्रीमती नै रक्सी खाएर प्रायः झगडा गर्ने गरेको अनुसन्धानमा खुलेको छ । ४१ वर्षीय एकबहादुर र ४५ वर्षीया गौमायाका तीन छोरा, एक छोरी छन् । घरमा एकबहादुरका आमा समेत थिईन् । सधैंजसो झगडा पर्ने भएकाले वास्ता नगरेको बताईन्छ ।

बेलुकी ८ बजेदेखि नै रक्सी खाएपछि उनीहरुबीच भनाभन हुन सुरु भएको थियो । राति ११ बजेतिर दाउराले देब्रे आँखाभन्दा माथिल्लो भागमा प्रहार गर्दा गौमाया ढलिन् । त्यसपछि एकबहादुर भागे । बिहान उठेर हेर्दा मात्र परिवारले गौमाया मरिसकेको थाहा पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

प्रहरीले बहिनीको घरमा लुकेर बसेको अवस्थामा एकबहादुरलाई पोखराको रामबजारबाट पक्राउ गरे । उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाईयो । एकबहादुरले ‘मार्छु भनेर नहानेको तर मरिहाल्यो’ भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ